सभामुख महरा बोल्दाको त्यो गल्ती : अब के हुन्छ ?
काठमाडौं । शुक्रबार प्रतिनिधिसभा वैठकमा सभामुख कृष्णबहादुर महराको जिब्रो चिप्लियो । हुन्छ भन्नेको बहुमत भएकाले विधेयक पारित हुन्छ भन्नुपर्नेमा उनले ‘हुँदैन भन्नेको बहुमत भएकाले..’ भने । महराको भनाईबाट विधेयक पारित नभएको अर्थ पनि लगाउन सकिन्छ । वास्तवमा महराले त्रुटी गरेकै हुन् । यो त्रुटीलाई मानविय त्रुटी मान्नुपर्ने हुन्छ । त्रुटी भइसक्यो, त्यो पनि संसदमा । त्रुटी अनर्थ लाग्ने खालको देखियो । अब के हुन्छ ? संसदीय मामिलाका जानकारहरुका अनुसार महराको त्रुटी रमाइलो घटनाभन्दा धेरै केही होइन । उनीहरुका अनुसार सभामुखले बोल्दा गरेको त्रुटीले विधेयकको अवस्थालाई कुनै फरक पर्दैन । संसदमा जुन पक्षमा बहुमत देखियो, त्यही चिज पारित भएको मान्नुपर्ने हुन्छ । सभामुख महराले बोल्दा गरेको त्रुटी अर्थात् ‘हुन्छ’ र ‘हुँदैन’ले सर्वसाधारणमा अन्यौल र कौतूहल पनि बढाएको छ । संसदीय अभ्याशमा यो कस्तो घटना हो ? यसको जवाफ खोज्न २०१६ र २०४८ सालको संसदतिर फर्कनुपर्ने हुन्छ । २०१६ मा तत्कालीन प्रतिनिधिसभामा सभामुख थिए कृष्णप्रसाद भट्टराई । त्यसबेला पनि कतिपय सांसदले एकथोक बोल्नुपर्नेमा अर्कैथोक बोल्थे । त्यसबेला मात्र होइन अहिले पनि बोलीमा त्रुटी हुनसक्छ । संसदमा मात्र नभएर जोकोही मानिसले बोल्दा त्रुटी गर्न सक्छ । बोल्दा हुने मानविय त्रुटीलाई नियतवस गरिएको त्रुटी या गल्ती मानिँदैन । त्यसैले सभामुख भट्टराईले अभिव्यक्ति त्रुटीलाई विषय बनाउन सकिँदैन भन्ने रुलिङ गरेका थिए । २०४८ सालमा गठित प्रतिनिधि सभामा भने अलि विवाद आउने खालको त्रुटी एकजना सांसदले गरेका थिए । त्यसबेला सभामुख थिए दमननाथ ढुंगाना । वैठकमा कुनै एउटा विधेयक पारित हुन प्रस्तुत भएको थियो । प्रतिपक्षी एमालेले विधेयकमा मतगणनाको माग गर्यो । ढुंगानाले हरेक सांसदलाई हुन्छ र हुँदैन भन्न लगाएर मतगणना गरे । मतगणनाका क्रममा एमालेका एकजना सांसदले विधेयकको विपक्षमा मत दिनलाई ‘हुँदैन’ भन्नुपर्नेमा ‘हुन्छ’ भनिदिए । ‘हुन्छ’ भनिसकेपछि उनी बसे । वैठकमा सबैजना हास्न थाले । सबैजना हास्न थाल्दा पनि उनले आफ्नो त्रुटी थाहा पाएनन् । वरिपरिकाले भनिदिएपछि मात्र उनले आफ्नो त्रुटी थाहा पाए । तर, उनले ‘हुँदैन’ भन्ने पक्षमा मत दिइसकेका थिए । ती सांसद विलखवन्दमा परे । एमाले सांसदहरु मत सच्याउनुपर्छ भन्दै कराउन थाले । कांग्रेस सांसदहरु मत दिएपछि दियो, सच्याउन पाइँदैन भन्न थाले । वैठकमा सामान्य तनाव भयो । त्यसपछि सभामुख ढुंगानाले सांसदहरु समक्ष आफ्नो विचार राखे । बोल्दा या लेख्दा मानिसले त्रुटी गर्न सक्छ, एउटा शब्द बोल्नुपर्नेमा अर्काे शब्द बोल्न सक्छ, आज एमालेका सांसदले बोल्दा झुक्किएर त्रुटी गर्नुभयो, भोलि सत्तापक्षका सांसदले पनि यस्तै त्रुटी गर्न सक्नुहुन्छ भन्ने विचार दमननाथले राखे । त्यसपछि ढुंगानाले एमालेका सांसदले आफ्नो मत दिइसकेकाले त्यसलाई सच्याउन दिने कि नदिने भनी प्रश्न गरेका थिए । यो हाउसले अहिले जे निर्णय गर्छ त्यो भविष्य पर्यन्त नजीर बन्छ, त्यसैले भविष्यका लागि कस्तो नजीर बसाउने, कस्तो अभ्याश गर्ने भनी दमननाथले सोधे । वैठकमा सन्नाटा छायो । एमाले सांसदले दिएको मत सच्याउन पाइँदैन भन्ने कांग्रेस सांसदहरु मौन भइसकेका थिए । त्यसपछि दमननाथले मानविय त्रुटीलाई सहजै सच्याउने र त्यस्तो त्रुटीलाई विषय नबनाउने पक्षमा यो हाउसले मत जाहेर गरोस् भने । अनि सत्तापक्षमा रहेको कांग्रेस र प्रतिपक्षमा रहेको एमालेका सांसदहरुले टेबल ठटाएर सभामुखको भनाईमा समर्थन जनाए । त्यो दिनबाट संसदमा मानविय त्रुटीलाई विषय नबनाउने र सच्याउन पर्ने भए सच्याउने अभ्याश सुरु भयो । त्यो अभ्याश लगभग तीन दशक चलिसकेको छ । शुक्रवारको वैठकमा सभामुख महराले पनि त्रुटी गरे, सामाजिक संजालमा उनको त्रुटी चर्चाको विषय बन्यो तर प्रतिपक्षी कांग्रेसले त्यो त्रुटीलाई कुनै मुद्दा बनाएन । संसदमा यस्ता मानविय त्रुटीका घटना सधैं भइरहन्छ । अत्याधिक सार्वजनिक चासोको थियो शुक्रवारको वैठक । त्यसैले सभामुख महराले गरेको रमाइलो त्रुटीमा सबैको ध्यान गयो र सार्वजनिक चर्चा भयो । अर्थात्, संसदीय परम्परा र नजीर अनुसार सभामुख या अरु कोही सांसदले अन्जानमा गरेको त्रुटीले संसदीय निर्णयमा कुनै प्रभाव पर्दैन । यस्ता त्रुटी सच्याउने विशेषाधिकार सभामुखसँग हुन्छ। संसद सचिवालय स्राेत अनुसार सभामुखले आफ्नो त्रुटी सच्याएर रेकर्ड राख्न सचिवालयलाई निर्देशन दिइसकेका छन् ।
