काठमाडौं । नेपाल र भारतका हिमाली समुदायबीच विपद् जोखिम न्यूनीकरण र पूर्वतयारीमा सहकार्य बढाउन काठमाडौंमा काँगडा–काठमाडौं पर्वतीय जोखिम तथा ज्ञान आदानप्रदान साझेदारी सुरु गरिएको छ। काठमाडौं क्लाइमेट एक्सन वीकका अवसरमा काठमाडौं महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन (IHRR) को पहलमा साझेदारी शुभारम्भ गरिएको हो।
शुभारम्भ कार्यक्रममा भारतको हिमाचल प्रदेशस्थित काँगडा जिल्ला विपद् व्यवस्थापन प्राधिकरण (District Disaster Management Authority, DDMA) का अधिकृत कुलदीप सिंह, हमीरपुर जिल्ला विपद् व्यवस्थापन प्राधिकरणका अधिकृत भानु शर्मा र सोही प्राधिकरणकी तालिम तथा क्षमता विकास अधिकृत सस्मिता शर्मा सहभागी हुनुहुन्थ्यो।
काँगडा र काठमाडौं क्षेत्रबीचका ऐतिहासिक तथा सांस्कृतिक सम्बन्धलाई आधार बनाएर साझेदारीले गाउँपालिका, नगरपालिका, जिल्ला तहका सरकारी तथा गैरसरकारी संस्था, विद्यालय, विश्वविद्यालय र स्थानीय समुदायलाई जोड्नेछ। भूकम्प, पहिरो र आकस्मिक बाढीजस्ता जोखिमको अनुगमन, जोखिमसम्बन्धी सूचना स्थानीय समुदायसम्म पुर्याउने तरिका र विपद् पूर्वतयारीका अभ्यासबारे अध्ययन भ्रमण, तालिम र संयुक्त अनुसन्धान सञ्चालन गर्ने लक्ष्य छ।
बाढी प्रभावित बस्तीबाट स्थलगत सिकाइ
साझेदारीको पहिलो कार्यक्रमअन्तर्गत हिमाचल प्रदेशका तीनै जना अधिकृतले भोटेकोशी–त्रिशूली बाढीबाट प्रभावित रसुवा र नुवाकोटका क्षेत्रहरूको स्थलगत भ्रमण गर्नुभयो। भ्रमणका क्रममा बाढीले स्थानीय बस्ती, जनजीविका र पूर्वाधारमा पारेको असर अवलोकन गरिएको थियो। भ्रमणबाट प्राप्त सिकाइलाई दुवै क्षेत्रका स्थानीय तहको विपद् पूर्वतयारी र प्रतिकार्य योजनामा उपयोग गर्ने उद्देश्य छ।
IHRR का कार्यकारी निर्देशक इन्जिनियर सुरज गौतमका अनुसार साझेदारीले विपद् जोखिममा रहेका नेपाल र भारतका गाउँहरूबीच प्रत्यक्ष सम्पर्क बढाउने र समुदायले अपनाएका जोखिम न्यूनीकरणका उपाय एकअर्कासँग साझा गर्ने अवसर दिनेछ। नेपाल–भारतका युवाबीच समन्वय बढाउन र आपसी हितका विषयमा ज्ञान तथा अनुभव आदानप्रदान गर्न सक्रिय युवा कानुनविद् साइरस शर्मा र पत्रकारिता तथा विपद् व्यवस्थापन क्षेत्रमा कार्यरत रहनुभएका बिक्रम केसी पनि यस साझेदारीमा जोडिनुभएको छ।
साझेदारीका कार्यक्रम विकासमा बेलायतको एस्टन विश्वविद्यालयअन्तर्गत एस्टन बिजनेस स्कुलका सङ्कट तथा विपद् व्यवस्थापनका उपप्राध्यापक डा. कोमल राज अर्यालले प्राविधिक सहयोग प्रदान गर्नुहुनेछ। आगामी कार्यक्रम सञ्चालनका लागि बेलायत सरकार र युरोपेली सङ्घबाट सम्भावित आर्थिक सहयोग जुटाउन पहल गर्ने उद्देश्य पनि राखिएको छ।
