काठमाडौं । पर्याप्त संख्यामा सांसद उपस्थित भएनन् भने वैठक प्रतिनिधिसभाको वैठक सुरु गर्न मिल्छ कि मिल्दैन ? सभामुख कृष्णबहादुर महराले शुक्रबार संसद वैठकमा भने– ‘वैठक सुरु गर्दा गणपूरक संख्या चाहिँदैन, निर्णय गर्दा मात्र चाहिन्छ ।’
उता, संसदीय समितिहरुको वैठक भने गणपूरक संख्या नपुगेर धेरै पटक स्थगित भएको छ । अघिल्लो संविधानसभा कालमा त कैयन समितिहरुको गणपूरक संख्या नै पुग्दैनथ्यो, संख्या नपुगेर वैठक स्थगित हुन्थ्यो । समितिहरुको वैठक सुरु हुँदै गणपूरक संख्या पुग्नुपर्ने व्यवस्था छ । प्रतिनिधिसभा नियमावलीमा यही व्यवस्था छ र वैठकको सुरुमै गणपूरक संख्या पुग्नुपर्ने अभ्याश र परम्परा स्थापित भइसकेको छ ।
तर, गणपूरक संख्या नपुगी नै प्रतिनिधिसभाको वैठक सुरु हुने गरेको छ । सुरुमा मात्र होइन, वैठक चलिरहेको बेला प्रायजसो गणपूरक संख्या पुगेको देखिँदैन ।
शुक्रबार प्रतिनिधिसभा वैठक सुरु हुनासाथ सांसद अख्तर कमालले गणपूरक संख्या नै नपुगी कसरी वैठक सुरु हुन्छ भनी प्रश्न उठाए । सभामुख महराले जवाफमा निर्णय गर्दा मात्र गणपूरक संख्या चाहिन्छ भने ।
वास्तवमा नेपालको संसदको परम्परा यही हो । निर्णय गर्दा गणपूरक संख्या चाहिन्छ, अरु बेला चाहिँदैन । संविधानमा पनि यही लेखिएको छ । संविधानको धारा ९४ मा प्रतिनिधिसभा र राष्ट्रिय सभा वैठकमा निर्णय गर्दा गणपूरक संख्या एक चौथाई अर्थात् २५ प्रतिशत सदस्य हुनुपर्ने उल्लेख छ । अर्थात्, अरुबेला गणपूरक संख्या नपुगे पनि वैठक चल्न सक्छ तर निर्णय गर्दा चाहिँ गणपूरक संख्या पुगेकै हुनुपर्छ ।
