काठमाडौं । नेपाली कांग्रेसले एउटा मुद्दा समाधान हुनासाथ अर्काे मुद्दा समातेर प्रतिनिधिसभा वैठक अवरुद्ध गरेको छ । वीपी कोइराला र सुशील कोइराला अस्पताल केन्द्र सरकार मातहत राख्नुपर्ने माग राखेर कांग्रेसले संसद वैठक अवरुद्ध गरिआएको थियो ।
सरकारले कांग्रेसको माग पूरा गर्दै ती दुई अस्पताललाई केन्द्र सरकार अन्र्तगत राख्ने निर्णय गरेको थियो । माग पूरा भएपछि कांग्रेसले संसद वैठक अवरोध नगर्ने अपेक्षा गरिएको थियो । त्यस विपरित कांग्रेसले बिहिबार प्रतिनिधिसभा वैठक अवरुद्ध गरेको हो ।
वैठक सुरु हुनासाथ कांग्रेस सांसदहरुले बसेको ठाउँबाट उभिएर विरोध जनाएका थिए । त्यसपछि सभामुख कृष्णबहादुर महराले कांग्रेस सांसद डा. मिनेन्द्र रिजाललाई बोल्ने समय दिएका थिए ।
मिनेन्द्रले दुई अस्पताल केन्द्र सरकार मातहत राख्ने सरकारको निर्णयलाई स्वगत गरे । मन्तव्यमा रिजालले डा. गोविन्द केसीको माग पूरा गर्नुपर्ने विचार राखेका थिए । रिजालले बोलिसकेपछि पनि कांग्रेस सांसदहरु वैठक अवरुद्ध गर्न उभिईरहे ।
कांग्रेसको तर्फबाट रिजाल एकजनाले मात्र बोलेका थिए । उनले मन्तव्यमा सरकारको विरोध र केसीको पक्षमा विचार राखे पनि संसद वैठक अवरुद्ध गर्ने सम्बन्धमा बोलेका थिएनन् । उनले अवरुद्ध गर्ने पनि भनेनन् । तैपनि उनी बोलिसकेपछि कांग्रेस सांसदहरु उभिईरहे ।
रिजालले अवरुद्ध गर्ने घोषणा नगरे पनि कांग्रेस सांसदहरु उभिईरहेपछि सभामुख महरा नै रनभुल्लमा परे । उनले सोधे– ‘माग पूरा भएको खुसीमा उभिनुभएको हो कि के हो ?’
कांग्रेस सांसदहरु कसैले जवाफ दिएनन्, मौन भएर उभिइरहे ।
सभामुखले भने– ‘खुसी हुँदा उभिइरहन पर्दैन । बस्नुस् माननीयज्यूहरु ।’ तर, कांग्रेस सांसदहरु कोही बोलेनन्, बसेनन् पनि ।
वैठक अवरोध गर्ने नभनी नै कांग्रेसले अवरोध गर्यो । यसको अर्काे अर्थ पनि छ, कांग्रेसले पहिले गरेको अवरोधलाई निरन्तरता दिएको देखायो, नयाँ अवरोध गरेको होइन भन्ने देखायो । वास्तवमा कांग्रेसले चिकित्सा शिक्षा विधेयक र डा. गोविन्द केसीको अनसन प्रकरणमा संसद वैठक अवरुद्ध गरेको थिएन, दुई अस्पतालको विषयमा अवरोध गरेको थियो । दुई अस्पतालको विषय समाधान भएपछि कांग्रेसले स्वत अवरोध खोल्नुपर्ने थियो । तर, पुन अवरोध गरेको छ ।
पुन अवरोधको घोषणा नगरी कांग्रसले पुरानै अवरोधलाई निरन्तरता दिएजस्तो बनाएको छ । यसको अर्काे अर्थ के हो भने सुरुदेखिकै अवरोधमा चिकित्सा शिक्षा विधेयक र केसीलाई पनि मुद्दा बनाइएको सन्देश दिन खोजिएको छ ।
अर्थात्, कांग्रेसले संसदमा केही दिन यता गर्दै आएको अवरोध र आजबाट थालेको अवरोध एउटै हो भन्ने पार्न खोजेको देखिन्छ ।
प्रतिनिसभाको अर्काे वैठक माघ २० गते बस्नेछ ।
