काठमाडौं । तीन दिन देखि अवरुद्ध प्रतिनिधि सभा वैठकको अवरोध खुलेको छ । राजपाले गिरिशचन्द्र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गर्दै सदन अवरुद्ध गरेको हो ।
सोमबार प्रतिनिधि सभा वैठकमा कानून मन्त्री भानुभक्त ढकालले राजपाको मागमा गम्भीर ध्यानाकर्षण भएको बताउँदै यथाशीघ्र राजपाको माग सम्वोधन गरिने बताए ।
चैत १५÷१६ मा हुने लगानी सम्मेलनलाई दृष्टिगत गरी केही विधेयक पारित गर्नुपर्ने भएकोले सदन अवरोध खोल्न उनले आग्रह गरेका थिए ।
मन्त्री ढकालले भने– ‘संसदमा उठेको यो विषयमा सम्माननीय सभामुखज्यूबाट निर्देशन पनि जारी भइसकेको छ । यस विषयप्रति सरकार अत्यन्त संवेदनशील छ, निर्देशनलाई यथाशीघ्र कार्यान्वयन गर्ने पक्षमा सरकार रहेको छ ।’
लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न सभामुख कृष्णबहादुर महराले दुई पटक रुलिङ गरिसकेका छन् । सभामुखको रुलिङलाई उदृत गर्दै मन्त्री ढकालले भने– ‘सभामुखको रुलिडप्रति सरकारको ध्यानाकर्षण भएको छ ।’
मन्त्री ढकालको मत्तव्यपछि सभामुख महराले पुन सरकारलाई रुलिङ गरेका थिए ।
