काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको संसदीय दलको बैठक आज बस्ने भएको छ । संसद अधिवेशन सकिएपछि जिल्ला फर्कन लागेका सांसदहरुले के सन्देश लिएर जाने भन्ने विषयमा वैठकमा छलफल हुने भएको छ ।
बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा अपराह्न बस्न लागेको काङ्ग्रेसले जनाएको छ । बैठकमा पार्टीले संसदमा निर्वाह गरेको भूमिकाका बारेमा समीक्षा हुने बताइएको छ । कांग्रेसले संसदमा प्रभावशाली प्रतिपक्षीको भूमिका निर्वाह नगरेको भनी आलोचना हुने गरेको छ । बैठकमा जनचासोका सार्वजनिक मुद्दा, सरकारका काम कारवाहीलगायत विषयमा छलफल हुने पार्टी सचेतक पुष्पा भुषालले जानकारी दिएकी छिन् ।
सङ्घीय संसद्को तेस्रो अधिवेशन आइतबारबाट सकिएको छ । अब केही सातामा बजेट अधिवेशन आव्हान हुने भएको छ ।
समापन भएको अधिवेशनमा सत्तापक्ष र प्रतिपक्षबीचको समझदारीका कारण अधिकांश विधेयक सहमतिका आधारमा पारित भएका थिए ।
