काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)काे संसदीय दलको बैठक बस्ने भएको छ। संसद अधिवेशन सकिएपछि जिल्लाजिल्ला फर्कन लागेका सांसदहरुलाई गाउँगाउँमा पार्टी र सरकारले गरिरहेको कामको सन्देश पुर्याउने विषयमा वैठकमा छलफल हुने बताइएको छ ।
संसदको हिउँदे अधिवेशन आइतबार सकिएको थियो । अधिवेशन सकिएर सांसदहरु जिल्ला फर्कन लागेकाले दलको वैठक राखिएको हो । संसद भवन नयाँ वानेश्वरमा वैठक बस्ने छ ।
केही सातापछि संसदको वजेट अधिवेशन सुरु हुन गइरहेको छ । बैठकमा सरकारको वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा पनि कुरा हुने भएको छ । सरकारले वजेट अधिवेशनको सुरुमै वार्षिक नीति तथा कार्यक्रम पेस गर्ने भएको छ ।
नीति तथा कार्यक्रममा समावेश हुने विषयमा संसदीय दलले छलफल थालनी गर्न लागेको हो ।
संविधान अनुसार जेठ १५ गते नयाँ आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत गर्नुपर्छ । बजेट पेस हुनु अगावै नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित हुनुपर्दछ । तर नीति तथा कार्यक्रम भने संसदको दुवै सदनको संयुक्त वैठकमा प्रस्तुत गरिन्छ ।
संसदीय दलको वैठकमा प्रधानमन्त्री तथा नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले बोल्ने र सांसदहरुलाई ठोस निर्देशन दिने बताइएको छ ।
