हेटौंडा । प्रदेश–३ को प्रदेशसभा बैठकमा एउटा विधेयक पारित भएको छ । आज बसेको प्रदेश सभा वैठकमा आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलद्वारा प्रस्तुत प्रदेशस्तरीय केही सार्वजनिक लिखित प्रमाणीकरण ऐन संशोधन गरेको विधेयक सर्वसम्मत पारित भएको हो ।
विधेयकमा संशोधन हालेकी प्रदेशसभा सदस्य सीता लामाले संशोधन फिर्ता लिएपछि सर्वसम्मत पारित भएको हो ।
प्रदेशसभा बैठकमा आज ४ विधेयक समितिमा दफावार छलफलका लागि पठाइएको छ भने ३ विधेयक प्रदेशसभामा प्रस्तुत भएको छ ।
आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्कट्टेलले प्रस्तुत गरेको प्रदेश सूचनाको हक सम्बन्धी विधेयक र प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक तथा सेवा सुविधा सम्बन्धी संशोधन प्रदेश मामिला समितिमा दफावार छलफलका लागि पठाइएको छ ।
त्यसैगरी, आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले प्रस्तुत गरेको कर तथा गैरकर राजस्वसम्बन्धी संशोधन विधेयक अर्थ तथा विकास समितिमा र सामाजिक विकास मन्त्री युवराज दुलालले प्रस्तुत प्रदेश बालबालिका सम्बन्धी विधेयक स्वास्थ्य तथा कृषि समितिमा दफावार छलफलका लागि पठाइएको छ ।
बैठकमा कृषि तथा भूमि व्यवस्था मन्त्री दावादोर्जे लामाले प्रदेश विउ विजन सम्बन्धी विधेयक, प्रादेशिक कृषि व्यवसाय सम्बन्धी विधेयक र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री अरुण नेपालले प्रादेशिक व्यापार सम्बन्धी विधेयक प्रस्तुत गरेका थिए ।
प्रदेशसभाको अर्को बैठक मंगलबार दिउँसोका लागि बोलाइएको छ ।
