काठमाडौं । संघीय संसद्को बैठक वैशाख १६ गतेका लागि बोलाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा वैशाख १६ गतेका लागि संसदको बजेट अधिवेशन अर्थात वर्षे अधिवेशन आह्वान गरेकी हुन् ।
संविधान अनुसार, जेठ १५ गते सरकारले बजेट पेश गर्नु पर्छ । त्यसभन्दा अघि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्छ ।
राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने व्यवस्था छ । यसवर्ष वैशाख २० गते राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संघीय संसद सचिवालयले जनाएको छ ।
