काठमाडौं । सभामुख कृष्णबहादुर महराले आफू क्रिश्चियन धर्म प्रचारकलाई प्रहरीबाट छुटाउन दवाब दिने काममा संलग्न नभएको बताएका छन् ।
पक्राउ परेका क्रिश्चियन धर्म प्रचारकहरुलाई छुटाउन प्रहरीलाई दवाब दिएको भनी केही मिडियामा आएको समाचारको सभामुखले खण्डन गरेका हुन् ।
उक्त घटनाका बारेमा सभामुखज्यूलाई कुनै जानकारी नै नभएको र प्रहरी तथा स्थानीय प्रशासनका कोही पनि अधिकारीसँग फोन सम्पर्क नै नभएको अवस्थामा उल्टै पक्राउ परेका व्यक्तिलाई छुटाउन दबाब दिएको भनी आएको समाचारमा आपत्ति जनाएका छन् महराले ।
‘चरित्र हत्या गर्ने, बार्गेनिङ गर्ने र भ्रम फैलाउने जस्ता गलत नियतबाट गरिने धन्दा कहिल्यै पनि पत्रकारिता हुन सक्दैन । पत्रकारिता नै गर्ने भए पत्रकारिताको न्यूनतम मूल्यमान्यताको पालना गर्न सम्बन्धित अनलाइन सञ्चालकहरुलाई आग्रह गर्छु’ महराको तर्फबाट उनका प्रेस सल्लाहकार डिल्ली मल्लले जारी गरेको विज्ञप्तिमा लेखिएको छ– ‘पटक–पटक सुनियोजित ढंगले सभामुखज्यूमाथि गरिएको हमलाको उचित कानूनी उपचारको बाटो खोजिने पनि अवगत गराउँछु ।’
