बैशाख । आजबाट सुरु भएकाे संसदकाे बजेट अधिवेशनमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले केपी ओली नेतृत्वको सरकारकाे जमेर अालाेचना गरेका छन् ।
उनले १४ महिनाकाे अवधीमा सरकारले कुनै पनि उपलब्धि हासिल गर्न नसकेको बताएका छन्।
‘अघिल्लो वर्ष नेपालको संविधान कार्यान्वयनको महत्वपूर्ण आधार थियो। तर, त्यसपछि देशलाई आर्थिक समृद्धिमा लैजाने अवसर सरकारले खेरफालेको छ’, उनले भने, ‘निर्मला पन्तको हत्यारा पत्ता लगाएन, शान्ति सुरक्षा दिन सरकार असफल भयो। चालू आर्थिक वर्षमा पुँजीगत खर्च पनि बढाउन सकेन।’
उनले भने- ‘सबै तहका राज्य संरचनाको अधिकार आफूमा केन्द्रीत गरेर चाडै विकास गर्न सक्छु भन्ने भ्रमबाट मुक्त हुन प्रधानमन्त्रीलाई आग्रह गर्दछु ।’
देउवाले विगतका सरकारले गरेका योजना उद्घाटन गरेर सरकारले झुटा प्रचार गरेको आरोप लगाउँदै भने- ‘हाम्रो पालामा भएको योजना उद्घाटन गर्दै सरकारले अहिले जस लिइरहेको छ।
‘दिनानुदिन भ्रष्टाचार बढ्दै गएको छ। राष्ट्रपतिले समेत भ्रष्टाचार संस्थागत भएको बताउनुभएको छ’, उनले भने’, ‘वाइडबडी काण्डका दोषीलाई सरकारले कारबाही गर्न सकेन। बालुवाटारको सरकारी जग्गा पनि भूमाफियाको कब्जामा छ।’
‘प्रमुख प्रतिपक्षीको हैसियतले सरकारको भूमिका अझ सशक्त बनाउने कुरामा हाम्राे साथ हुन्छ तर जनता निरास छन्। आमनागरिकको अपेक्षाअनुसारको काममा सरकारलाई सहयोग हुन्छ’- देउवाले भने ।
सरकारले गणतन्त्र भत्काउन खाेजेकाे उनले आराेप लगाए ।
