काठमाडौँ । आजबाट सुरु भएको संसद्को बजेट अधिवेशनमा संविधानसभाका पूर्वसभामुख एवम् नेकपा नेता सुवास नेम्वाङले नेपालमा जनताले जनताको संविधानको निर्माण गरेको र संविधान कार्यान्वयनमा ठूलो सफलता हासिल गरेको बताएका छन् ।
‘कार्यान्वयन गर्ने सिलसिलामा अघि बढ्दा ठूलाे सफलता हासिल भएको छ । तीन तहको निर्वाचन सम्पन्न भएर सङ्घीय संसद्को बैठक बसिरहेको छ । प्रदेश स्थापित भएको छ, स्थानीय निकाय स्थापित भएको छ । जनतालाई मौलिक अधिकार सम्पन्न बनाइएको छ’, नेता नेम्वाङले भने ।
ऐतिहासिक शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने आधार तयार गर्दै आयोग निर्माणका सुनिश्चितता तयार पारेको समेत उनले बताए । ‘सत्य निरूपण आयोग र बेपत्ता आयोग त्यसैको उपज हो’, उनले भने ‘हामीले जनतालाई अधिकार सम्पन्न बनाउने, समृद्ध नेपाल र सुखी नेपालीलाई व्यवहारमा प्राप्त गर्न आधार तयार गर्ने र विश्वमै उत्कृष्ट शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने आधार तयार गर्ने काम गर्याैं ।’
प्रतिपक्षका नेताले जनता निराश छन् भनेर गरेको टिप्पणीलाई समेत उनले कटाक्ष गरेका छन् । ‘कसले भन्नुभयो मैले त बिर्सिए । कता कता सुनेको जस्तो लाग्छ । अब राजनीतिक आन्दोलन गर्नुपर्दैन । अरू ढंगको आन्दोलन गर्नुपर्दैन । जनता निराश होइन, जनता उत्साही छन्, जनता खुसी छन्’, उनले भने ।
उनले प्रतिपक्ष गभर्न्मेन्ट इन वेइटिङ (आउँदो सरकार) भएकाले आफूहरू प्रतिपक्षलाई निकै सम्मान गर्ने समेत बताए ।
