काठमाडौं । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार र प्रतिपक्षको एकसाथ प्रशंसा गरेका छन् ।
प्रतिनिधिसभामा नीति तथा कार्यक्रमको छलफलमा उनले सरकार र प्रतिपक्ष दुवैको प्रशंसा गरेका हुन् । उनले भने– ‘गत सालको नीति कार्यक्रम र यो वर्षको नीति कार्यक्रमलाई हेर्दा गत साल भन्दा गुणस्तर बढेको ठानेको छु । सरकार र प्रतिपक्ष दुवैले आफ्नो स्तर वृद्धि गरेका छन् ।’
उनले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न पनि सांसदहरुलाई अपिल गरे ।
उनले भने– ‘गत साल नीति कार्यक्रम र वजेट निर्माणको क्रममा सरकारको तयारीको स्तर र प्रतिपक्षको विरोध गर्ने तयारीको स्तरको तुलनामा यो वर्ष दुवै नै अलि व्यवस्थित, अलि राम्रो तयारीका साथ प्रस्तुत भएको मैले महशुस गरेको छु ।‘
प्रतिपक्ष पनि गत सालको तुलनामा यो पटक अलि राम्रो तयारीसाथ सदनमा प्रस्तुत भएको उनले बताए । उनले भने– ‘प्रतिपक्षका नेताले लिखित रुपमा नै आफ्नो धारणा राख्ने र बहसको नयाँ स्तर प्रदान गर्ने जो कोशिस भएको छ, यसका लागि प्रतिपक्षका माननीय सदस्यहरुलाई धन्यवाद भन्न चाहन्छु ।’
सरकारले राम्रै कार्यक्रम, नीति ल्याए पनि प्रतिपक्षले त्यसको विरोध गर्ने, प्रतिपक्षले जस्तो कुरा ल्याए पनि सरकारले इन्कार गर्ने प्रवृत्ति परिवर्तन गर्नुपर्ने उनले बताए ।
‘सरकारले यो एक वर्षमा समृद्धि र सुखी नेपालीको आकांक्षा सम्वोधन गर्न गरेको प्रयासका निम्ति म धन्यवाद भन्न चाहन्छु’– उनले भने ।
नयाँ सरकार बनेपछि भारत र चीन तथा अन्र्तराष्ट्रिय समुदायसँग नेपालको सम्वन्ध सन्तुलित बनाउने काम भएको उनले बताए । नेपालीकाे रेलको सपना यथार्थमा परिणत हुन लागेको भन्दै उनले भने- ‘रेलमार्ग अनिवार्य आवश्यकता हो। हामीले धेरै वर्षदेखि रेलको कुरा गर्दै आयाैं तर त्यसलाई साँच्चै समाज र जनताको दैनिक जीवनसँग जोडेर अघि बढाउने योजनाको अभाव थियो । अहिले पूर्व पश्चिम रेलमार्ग वा काठमाडौंलाई दक्षिण र उत्तरतिबाट जोड्ने प्रक्रियाको काम थालनी भइसकेको छ।’
विकासको फड्को मार्न अब यस किसिमका सपना देख्न थाल्नुपर्ने उनले बताए।
‘भारतसँग भएका थुप्रै सहमतिहरु, सीमा, हवाई, रेल, हुलाकी या अन्य सानाठूला समस्या समाधान गर्ने जेजति काम भएको छ, दूरगामी महत्वका छन् र विकासका लागि नयाँ आधार प्रदान गरेको छ’– अध्यक्ष प्रचण्डले भने ।
उनले भने– ‘चीनसँग भएका थुप्रै सहमतिहरु र पछिल्लो पटक राष्टपतिको चीन भ्रमणसम्म आइपुग्दा भएका सहमतिहरु दूरगामी सकारात्मक र महत्वपूर्ण छ ।’
यो एक वर्षलाई आधार वर्षका रुपमा लिने घोषणा गरिएको स्मरण गर्दै अध्यक्ष प्रचण्डले त्यसमा सरकार सफल भएको बताए । नेपाललाई समृद्धि र नयाँ युगतिर लैजाने सकारात्मक भूमिका खेल्ने आधार बनेको पनि प्रचण्डले बताए ।
प्रचण्डले मुलुकमा अझै सहमति सहकार्य र एकता आवश्यक भएको बताउँदै शान्ति प्रकृया र संविधान कार्यान्वयन गर्न पनि सहमति सहकार्य आवश्यक भएको बताए ।
