काठमाडौं । ‘कतिपय माननीयजीहरुलाई अचम्म लागेछ’– प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभाको आजको वैठकमा भने– ‘सपना भनेको राति मात्रै देखिने कुरा हो भन्ने लागेछ । ’ नीति तथा कार्यक्रममा उठेका प्रश्नहरुबारे जवाफ दिँदै प्रधानमन्त्री ओलीले अगाडि भने– ‘ नीति तथा कार्यक्रममा सरकारले प्रस्तुत गरेको सपना निदाएर देखिने खालको होइन । यसले आगामी चारपाँच वर्ष, २५ वर्षभन्दा पनि धेरै समयपछि कसरी जाने भन्ने समेतलाई समेटेको छ ।’
नीति तथा कार्यक्रमकाे छलफलमा कतिपय सांसदले सरकारले दिउँसै सपना देखेकाे, नचाहिँदाे सपना देखेकाे जस्ता टिप्पणी गरेका थिए । त्यसैकाे प्रधानमन्त्रीले जवाफ दिएका हुन् ।
उनले भने– ‘यहाँ गरेको सपनाको कुरा राति देखेको सपना होइन, यहाँ देश बनाउने कुराको सपना हो, हाम्रो भविष्यको सपना हो । जागा हुँदा नै देखिने सपनाको कुरा गरेको हो ।’
‘सहिदको सपना भनेको घुरेर देखिने सपना होइन । कहाँ पुग्ने के बनाउने अठोट थियो, के बनाउने आकांक्षा राएिको थियो, ती आकांक्षा उदेश्य र लक्ष्यहरुलाई सहिदका सपना भन्ने गरिन्छ । राति निदाएर देखिने सपना भन्या होइन’– उनले भने ।
दिगो विकास लक्ष संयुक्त राष्टसंघले देखेको सपना हो, हामी सबैले देखेको सपना हो, राष्टहरुले राति देखेको सपना होइन भन्ने टिप्पणी गर्दै उनले भने– ‘देखेको मात्र होइन, तय गरेको सपना हो । त्यसकारण सपना भन्ने शब्दको निदाएर देख्ने मात्र अर्थ हुन्छ भनेर नबुझ्न आग्रह गर्दछु ।’
नीति तथा कार्यक्रमले सपना मात्र बोकेको छैन, संकल्प र अठोट पनि बोकेको प्रधानमन्त्री ओलीले बताए ।
