काठमाडौं । ‘मेरा सरकार’ विषयमा उठाइएको विवादमा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा वैठकमा जवाफ दिएका छन् ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दाको सम्वोधनमा राष्ट्रपति विद्यादेवी भण्डारीले ‘मेरो सरकार’ भनेकोमा आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संशोधन प्रस्ताव पेस गरेको थियो ।
‘मेरो सरकार’ प्रकरणमा प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा वैठकमा जमेर जवाफ दिएका हुन् ।
प्रधानमन्त्रीको जवाफको पूर्ण अंश:
‘एकदमै सामान्य कुरामा बढि ध्यान, बढि बल लगाएको देखिन्छ । खन्यो पहाड निस्कियो मुसो भनेजस्तो । पहाड खनेर मुसो पनि ननिस्कने विषयमा बढ्दा ध्यान र जोड दिइयो । केके न पाएजस्तो गरेर उधुमै मच्चाएको पनि मैले अनुभव गरें ।’
सम्माननीय राष्टपतिज्यूले मेरो सरकार भन्नुभयो । अचम्म लाग्यो, यो दुनियाँ भरीको प्राक्टिस हो । पोहोर साल थिएन भन्नुभयो । पोहोर थिएन, अर्काे वर्ष हामीले अभ्याश गर्दैछौं, कतिपय अभ्याश मिलेको छैन, ती अभ्याशहरुलाई अझ मिलाउँदै जानुपर्छ । यसपल्ट यो ‘मेरो सरकार’ भन्ने मिल्यो । अर्काेपल्ट अरु धेरै मिलाउनुपर्छ ।
साथीहरु आफैं भन्नुहुन्छ भारतमा राष्ट्रपतिले मेरो सरकार भन्नुहुन्छ । भारतको राष्ट्रपति पनि सम्मानित राष्ट्रपति नै हो, कार्यकारी होइन । भारतको संविधानमा पनि राष्ट्रपतिले मेरो सरकार भन्नु भनेर लेख्या छैन, अन्यत्र पनि लेख्या छैन ।
हुनत विपक्षी दलका नेताले भन्नुभयो– वेलायतकी महारानीको जस्तो सम्वोधन भनेर । अलिकति त्यो शब्दावली उपयुक्त भएन कि भन्ने म ठान्छु । किनभने वेलायत हाम्रो मित्रराष्ट्र हो र वेलायतकी महारानीको सम्वोधनलाई हामीले नेगेटिभ टिप्पणी गर्नु वाञ्छनीय हुँदैन । उहाँहरुको आफ्नो परम्परा छ, तरिका छ । त्यस्तै नराम्रो भयो भन्ने अर्थमा वेलायतकी महारानीको जस्तो भयो भनेको त्यो नराम्रो छ, त्यस्तै नराम्रो यहाँ भयो भन्ने अर्थ लाग्छ ।
भारतमा प्रणव मुखर्जी जीवनभर कांग्रेस रहनुभयो, कांग्रेसबाटै मन्त्री, कांग्रेसबाटै राष्ट्रपति बन्नुभयो । विजेपीको सरकार बन्यो, विजेपीको सरकार बनेपछि उहाँले ‘माई गभर्नमेन्ट’ भनेरै सम्वोधन गर्नुभयो । यो चलन हो दुनियाको ।
हुनत यहाँ संविधानका धाराधारा पढ्नुभयो साथीहरुले । राम्रो हो, हामीले संविधान पढ्ने, संविधानको आड लिने, संविधान कार्यान्वयन गर्नुछ, त्यसकारण संविधान अनुसार चल्ने, त्यसलाई उद्धरण गर्ने बानी गर्नुपर्छ । तर, गर्दाखेरी अर्कै अर्थ लाग्नेगरी त्यसरी व्याख्या गर्न हुँदैन ।
कार्यकारी अधिकार नेपालको राष्ट्रपतिमा चाहि किञ्चित छैन भन्ने होइन । हाम्रो गरिमामय संसदले पारित गरेका विधेयक राष्ट्रपतिले दस्तखत गरेपछि कानून बन्छ । सेना परिचालन ज्स्ता कुराहरु राष्ट्रपतिबाट हुन्छ । मन्त्रिपरिषदले सिफारिस गरेका कुराहरु राष्ट्रपतिले सदर गरेपछि मात्र अन्तिम सदर हुन्छ । राष्ट्रपति भनेको केही पनि होइन भन्ने होइन । राज्य व्यवस्थाको सर्वाेच्च र सम्मानित संस्था हो । राज्य व्यवस्थाको सर्वाेच्च सम्मानित र अभिभावकीय भूमिकाको संस्था हो । त्यो संस्था साझा हुन्छ त्यसकारण कुन पार्टीको सरकार बन्यो, कुन सरकार कसले नेतृत्व गर्यो भनेर मेरो भन्ने कि नभन्ने हुँदैन । जसको बने पनि राष्ट्रपतिको ‘मेरो सरकार’ हुन्छ । कमसेकम अन्तर्राष्ट्रिय प्राक्टिस बुझौं ।
नेपाली कांग्रेस लोकतन्त्रको लामो इतिहास भएको पार्टी हो । यस पार्टीले पनि लोकतन्त्रको अभ्याशहरुको सन्दर्भमा साह्रै आलोकाँचोपन देखाउन अलिकति मिल्दैन कि ? त्यतातिर साथीहरुले विचार गर्नु वाञ्छनीय हुन्छ भन्ने म ठान्छु । यो भुलचुकले परेको हो कि भन्नुभयो । यो भुलचुकले होइन । यो सुविचारित ढंगले जानीबुझी राखिएको हो र आवश्यक शब्दावली हो । राजा महाराजाले ‘मेरो’ भन्ने, जनताको प्रतिनिधिले चाहिँ अपनत्व नलिने भन्ने हुँदैन । राष्ट्रप्रमुखको हैसियतले ‘मेरो सरकार’ भनेर सम्वोधन गर्नु पर्छ र त्यो वाञ्छनीय हो ।
कसैकसैको चलन हुन्छ तिमी तपाईं केही पनि नभनीकन बोल्ने । किनभने उसलाई तिमी भन्ने आँट पनि छैन, तपाईं भन्ने मन पनि छैन । त्यसो गरेपछि उसले बीचबीचबाट यसो गरे राम्रो हुन्थ्यो, उसो गरे हुन्थ्यो, यस्तो भए हुन्थ्यो भन्छ तर सम्वोधन गर्दैन । राष्ट्रपतिले त्यस्तै गरेर बोल्ने होइन। कसको सरकार हो, के हो, कसो हो भनेजस्तो गरेर बोल्ने होइन । ढुक्कले भन्ने हो, मेरो देश मेरो संसार, मेरो धरती, मेरो देश, मेरो सरकार भन्ने हो । राष्ट्रप्रमुखले आफ्नो देशको, आफ्नो मातहतको सरकारलाई मेरो सरकार भन्नु एकदम ठिक छ ।
साथीहरुलाई के लागेको देखियो भने निरंकुशतन्त्रमा चाहिँ ‘मेरो सरकार’ भन्नु ठिकै हो, निरंकुशतन्त्र बाहेक लोकतन्त्रमा चाहिँ ‘मेरो सरकार’ भन्न पाइँदैन भनेजस्तो गरियो तर त्यस्तो होइन । हामी सबैको सरकार हो ।
त्यसकारण प्रतिपक्षलाई आफ्नो सरकार भन्न अलि गाह्रो हुन्छ होला नेपाल सरकार भन्न त सजिलै छ । त्यो गाह्रो हुँदैन । प्रतिपक्षले पनि यो सरकारलाई आफ्नै सरकार भने हुन्छ । अब बजेट हेर्नुहोला नि, प्रतिपक्षका लागि बजेटमा कति काम हुन्छ, अनि आफ्नो सरकार भन्न के भो र ?
