काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/७७ का लागि संघीय संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
बैठकमा सभामुख कृष्णबहादुर महराले उक्त प्रस्तावलाई निर्णयार्थ पेश गर्दै बहुमतले पारित भएको घोषणा गरेका हुन् ।
तर, प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी राजपा नेपाल र स्वतन्त्र सांसद प्रेम सुवाल भने विपक्षमा उभिएका थिए । नीति तथा कार्यक्रममाथि कांग्रेस, राजपा लगायत दलका सांसदले राखेको संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २० गत संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । नीति तथा कार्यक्रममाथि संसदमा आइतबार, सोमबार र मंंगलबार छलफल भएको थियो ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिएका थिए । संसदको अर्को बैठक वैशाख २७ गते बस्नेछ ।
