काठमाडौं । बुधबार प्रतिनिधिसभामा भएको हंगामाको घटनाले नयाँ मोड लिएको छ । सो दिन प्रधानमन्त्री केपी शर्मालाई प्रश्न सोध्न क्रममा तथा प्रधानमन्त्रीले जवाफ दिने क्रममा असंसदीय शब्दहरु प्रयोग भएको भनी विवाद भएको थियो ।
सो विवादको क्रममा सभामुख कृष्णबहादुर महराले आफ्नो ध्यानाकर्षण भएको बताएका थिए ।
आजको वैठक सुरु हुनासाथ सभामुख महराले भने– ‘मेरो ध्यानाकर्षणको विषयमा केही भन्न चाहन्छु । नेपाल सरकारको नीति तथा कार्यक्रमबारे सम्माननीय प्रधानमन्त्रीको स्पष्टिकरण तथा माननीय सदस्यहरुको जिज्ञासाको दिने क्रममा प्रयोग भएका संसदीय मर्यादा अनुकूल नभएका शब्दहरु संसदीय अभिलेखबाट हटाउन सचिवालयलाई निर्देशन गर्दछु ।’
सभामुखको यो रुलिङ लगत्तै सांसदहरुले प्रश्न उठाएका थिए । जसमा सभामुखले जवाफ दिए– ‘माननीय सदस्यहरुको जिज्ञासाको क्रममा भन्ने शब्द पनि प्रयाग गरेको छु । सबैलाई भनेको हो ।’
कुन कुन शब्द संसदीय अभिलेखबाट हटाइनेछ भन्ने बारे चाहिँ सभामुखले केही बताएनन् । सो दिन प्रधानमन्त्रीले प्रयोग गरेको ‘निम्छरो’ शब्द विवादमा परेको थियो ।
