काठमाडौं । चर्चित बनेको ‘निम्छरो’ शब्द प्रतिनिधिसभामा अब प्रयोग गर्न नपाइने भएको छ । सभामुख कृष्णबहादुर महराले आजको वैठकमा यस सम्वन्धी निर्णय सुनाएका हुन् ।
असंसदीय शब्द
सभामुखले वैठकमा कुनै शब्द प्रयोग नगर्नु भनी रोक लगाउन सक्छन् । असंसदीय शब्द कुन हो भनेर निर्णय गर्ने अधिकार सभामुखलाई हुन्छ ।
अभिलेखबाट हटाउने
संसद (प्रतिनिधिसभा र राष्ट्रिय सभा)मा सांसदहरुले बोलेका हरेक कुराको अभिलेख राखिन्छ । विगतमा त्यस्ता शब्दहरु कागजमा लेखेर राखिन्थे । अहिले भिडियो र अडियो पनि राखिन्छ ।
सांसदले प्रयोग गरेको कुनै शब्द असंसदीय घोषित भएमा सांसदले बोलेको कुराको अभिलेख राखिएको पानामा रहेको त्यो शब्दमा चिन्ह लगाइन्छ र फुटनोटमा सभामुखको आदेशल हटाएको भनी उल्लेख गरिन्छ । वास्तवमा शब्द नै चाहिँ मेटिँदैन । त्यस्तो शब्द प्रयोग भएको अडियो भिडियो पनि यथावत राखिन्छ ।
पूरानो हो चलन
संसदमा मर्यादित शब्दहरु मात्र प्रयोग गर्न सकिन्छ । अमर्यादित शब्दहरु प्रयोग गर्न मिल्दैन । वेलायतको संसदबाट असंसदीय शब्द अभिलेखबाट हटाउने चलन चलेको हो ।
नेपालमा २०१६ मा तत्कालीन सभामुख कृष्णप्रसाद भट्टराईले कैयन शब्दलाई असंसदीय घोषणा गरेका थिए । पछिका सभामुख दमननाथ ढुंगाना, रामचन्द्र पौडेल, तारानाथ रानाभाट, सुवासचन्द्र नेम्वाङ, ओनसरी घर्तीले पनि विभिन्न शब्दलाई असंसदीय घोषणा गरेका थिए ।
दुवैतिर
प्रतिनिधिसभामा असंसदीय घोषित शब्द राष्ट्रिय सभामा पनि स्वत असंसदीय ठहरिन्छ । यद्यपि, नियमावलीमा अनिवार्य व्यवस्था भने छैन । तथापि, विगतको अभ्याश अनुसार एउटा सदनमा असंसदीय घोषित शब्द अर्काे सदनमा पनि स्वत असंसदीय ठहरिन्छ ।
असंसदीय घोषित शब्द सांसदहरुले बोल्ने क्रममा प्रयोग गर्न पाउँदैनन् ।
अस्पष्ट
आजको वैठकमा सभामुख महराले बुधबारको वैठकमा प्रधानमन्त्रीले जवाफ दिने क्रममा र सांसदहरुले प्रश्न सोध्ने क्रममा प्रयोग भएका असंसदीय शब्दहरु अभिलेखबाट हटाउने निर्णय सुनाए । तर, कुनकुन शब्द हटाएको भन्ने खुलाएका छैनन् ।
सबैभन्दा विवादमा परेको निम्छरो शब्द थियो । सो शब्द हटाइएको जानकारी कार्यव्यवस्था परामर्श समितिमा रहेका नेपाली कांग्रेसका एक सांसदले सनराइज खबरलाई दिए ।
