काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले आगमी आर्थिक वर्षको बजेट सामाजिक न्याय र उच्च आर्थिक वृद्धिमा केन्द्रीत हुने बताएका छन् ।
प्रतिनिधि सभामा आगामी आर्थिक वर्षको बजेटको सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै अर्थमन्त्री खतिवडाले भने–‘सामाजिक न्याय र उच्च आर्थिक वृद्धिको दिशामा आगामी वर्षको बजेट केन्द्रीत हुन्छ ।’
उनले भने–‘सरकारले छोटो समयमा धेरै उपलब्धी हासिल गरेको छ, जसबाट सुशासन, विकास र समृद्धीको बलियो आधार तयार भएको छ ।’
‘एक वर्षमा राज्य पुर्नसंरचनाका कानूनी आधार, संगठन संरचना, संघीय वित्त प्रणाली तथा कार्यसञ्चालन विधि निर्माण र कर्मचारी समायोजन गर्ने काम सम्पन्न भएको छ । संघियता कार्यन्वयनमा आएको छ । संघ, प्रदेश र स्थानीय तहको समन्वय र सहकार्यबाट स्रोत, साधन र अवसरको अधिकतम परिचालन गरी समृद्धितिर अघि बढ्ने मार्ग प्रशस्त भएको छ’ –खतिवडाले भने ।
उनले समाजवाद उन्मुख आर्थिक कार्यप्रणालीलाई मार्गदर्शनका रुपमा लिएर मौलिक हक कार्यान्वयन र नीति तथा कार्यक्रमलाई विनियोजन विधयेकको मुख्य आधार बनाइएको बताए ।
अर्थमन्त्री खतिवडाले बजेटले ‘समृद्ध नेपाल र सुखी नेपाली’को नारा हासिल हुने गरी काम गर्ने दाबी गरे ।
उनले २०३० अगाडि नै दीगो विकास लक्ष्य हासिल गर्ने गरी बजेट आउने बताए ।
‘वामपन्थी घोषणापत्र, विकासका दीर्घकालीन लक्ष्य र दीगो विकास लक्ष्य हासिल हुनेतर्फ ध्यान दिइनेछ’ –खतिवडाले भने ।
आगामी आर्थिक वर्षबाट सुरु हुने पन्ध्रौं योजनाले लिएका विकासका दिर्घकालिन लक्ष्य र मध्यम आय भएको मुलुकमा स्तरोन्नति हुने प्रतिवद्धता सहित दिगो बिकास हासिल गर्ने लक्ष्य लिएको बताए ।
अर्थमन्त्रीले भने ‘राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्व एवंं नागरिकका मौलिक हक कार्यान्वयन गर्न बनेका कानूनलाई वजेट तर्जुमाको आधारको रुपमा लिएको छु ।’
सरकारको नीति तथा कार्यक्रम र चालु आर्थिक बर्षको सुरु गरेका नीति तथा कार्यक्रमको निरन्तरतालाई पनि विनियोजन बिधेकको सिद्धान्त तथा प्रथमिकता तय गर्दा मुख्य आधारको रुपमा लिएको उनले बताए ।
मन्त्री खतिवडाले खर्च प्रणालीलाई न्यायोचित वितरणमा ध्यान दिने बताए ।आयोजनाको प्रतिफल हेरेर बजेट विनियोजन हुने उनको भनाइ छ ।
अर्थमन्त्री खतिवडाले त्यसैगरी एक वर्षभित्र सबै नेपालीको बैंक खाता हुने गरी बजेट छुट्याउने बताए । बजेट सहकारी र सामूहिक कृषिमा केन्द्रित गरिने भन्दै उनले भूउपयोग नीति ल्याइने पनि बताए ।
ठूला पूर्वाधार निर्माणलाई सरकारले प्राथमितामा राख्ने पनि अर्थमन्त्री खतिवडाले बताए ।
‘आगामी आर्थिक वर्षलाई अधुरा कार्यक्रम सम्पन्न हुने वर्षका रुपमा अघि बढाइने छ’ उनले भने । उनले, जलमार्ग, रेलमार्ग अघि बढाइने पनि बताए । त्यसैगरी विद्युतीय सवारी साधन प्रोत्साहित गर्ने काम पनि बजेटको प्राथमिकतामा हुने बताए ।
चालु आर्थिक वर्षमा राजश्वको दायरा फराकिलो भएको, राजस्व चुहावट नियन्त्रणमा उल्लेखनीय प्रयास भएको पनि उनले दाबी गरे ।
अर्थमन्त्री खतिवडाले सबै नागरिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने भन्दै रोजगारी र उत्पादनमा जोड्ने गरी कार्यक्रम तर्जुमा हुने पनि बताए ।
लगानीको वातावरण बनेको भन्दै उनले स्वदेशी तथा बिदेशी लगानीको प्रतिबद्धता बढेको बताए । उनले आगामी वर्षलाई युवा परिचालनको वर्षका रुपमा अघि बढाइने पनि बताए ।उनले मुल्य बृद्धि नियन्त्रण गरिने भन्दैकृषिको आधुनिकीकरण र यान्त्रिकरणमा जोड दिइने बताए । अनुदान वितरणको विद्यमान व्यवस्थामा परिवर्तन गरिने भन्दै उनले कृषिको अनुदान उत्पादनमा जोडिने गरी कार्यक्रम ल्याइने बताए ।
दुई वर्षभित्र साक्षर नेपाल घोषणा गर्नेतर्फ बजेट केन्द्रित हुने भन्दै उनले राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अघि बढाइने बताए ।
मन्त्री खतिवडाले स्वास्थ्य क्षेत्र र महिला सशक्तीकरणमा जोड दिइने पनि बताए । उनले विकास र वातावरणको सन्तुलन कायम गरिने समेत बताए ।
गैरसरकारी संस्थालाई सरकारले प्राथमिकता तोकेका काम गर्न प्रोत्साहन गर्ने अर्थमन्त्री खतिवडाले बताए । उनले जोखिमयुक्त वस्तीमा रहेका सबैलाई जोखिममुक्त क्षेत्रमा स्थानान्तरण गरिने पनि बताए ।
उनले राष्ट्र निर्माण र बिकासको यात्रामा सम्पूर्ण नेपालीलाई समाहित गरी न्यायपूर्ण सामाजिक आर्थिक बिकास गर्न तिर कार्यक्रमहरु केन्द्रीत हुने बताए ।
