काठमाडौं । सभामुख कृष्णबहादुर महराले ‘निम्छरा’ शब्दलाई किन असंसदीय घोषणा गरे ? प्रश्न उठाइन थालेको छ । नेकपाका सांसदहरुले सभामुख महराले असंसदीय घोषणा गर्दा अपनाएको अष्पष्ट तरिका र व्यवहार अनौठो मानेका छन् ।
गत बुधबार प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले यो शब्द प्रयोग गरेका थिए । यसमा नेपाली कांग्रेसका सांसदहरुले विवाद झिकेका थिए ।
शुक्रबारको वैठकमा सभामुख कृष्णबहादुर महराले बुधबारको प्रकरण उपर निर्णय सुनाउँदै असंसदीय घोषणा गरेका हुन् । बुधबार नीति तथा कार्यक्रम उपर सांसदहरुले पूरक प्रश्न सोध्ने र प्रधानमन्त्रीले जवाफ दिने क्रममा प्रधानमन्त्रीले प्रयोग गरेको वाक्य यो थियो– ‘आक्रोश कुण्ठा र निम्छरा अभिव्यक्तिहरु वास्ता नगरेर प्रश्नहरुको जवाफ प्रस्तुत गर्छु ।’
ओलीको यो भनाइलाई कांग्रेस सांसदहरुले अर्कै रुपमा बुझे । प्रधानमन्त्रीले ‘निम्छरा प्रश्नहरुको जवाफ दिन्न’ भनेको अर्थमा लगाउँदै उनीहरुले अवरोध गरे ।
कुण्ठा र निम्छरा शब्द समातियो तर पूरै वाक्यको अर्थ समातिएन । प्रधानमन्त्रीले जवाफ दिन्न भन्ने शब्द नै प्रयोग गरेका थिएनन् ।
प्रधानमन्त्रीको भनाईमा प्रयुक्त शब्द मात्र असंसदीय घोषणा गरिएको होइन, उनलाई कांग्रेस सांसदहरुले सोधेका प्रश्नहरुमा प्रयोग भएका शब्दहरु पनि असंसदीय घोषणा गरिएको सभामुखले बताएका छन् । तर, कुनकुन शब्द असंसदीय घोषणा गरिएको हो ? यो बारे सभामुखले बताउन नसक्दा अन्यौल उत्पन्न भएको छ र नेकपाका सांसदहरुले असन्तुष्टि ब्यक्त गरेका छन् ।
अहिले प्रधानमन्त्री ओली विदेश भ्रमणमा छन् । आफूले बोलेको शब्दलाई असंसदीय घोषणा गरिएकोमा उनको के टिप्पणी हुन्छ थाहा हुन सकेको छैन । तर, प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले भने यसमा असन्तुष्टि व्यक्त गरेका छन् । प्रधानमन्त्रीले प्रयोग गरेको वाक्यांशलाई वा त्यसमा प्रयुक्त कुनै शब्दलाई किन र कसरी असंसदीय मान्नुपर्ने ठहराइयो भन्ने प्रश्न गर्दै उनले ट्वीटरमा लेखेका छन्– ‘उपयुक्त जवाफ त चाहिन्छ नै ।’
