काठमाडौं । समाजवादी पार्टीका सांसद डा. बाबुराम भट्टराईले बजेटले हिमाल र पहाडलाई भन्दा तराई मधेसलाई उच्च प्राथमिकता दिनुपर्ने बताएका छन् । उनले भारत र चीनमध्ये भारतबाट लगानी ल्याउन प्राथमिकता दिनुपर्ने पनि बताएका छन् ।
प्रतिनिधिसभामा पूर्व बजेट छलफलमा बोल्दै उनले भने– ‘सबै हिसाबले तराई मधेसको विकासमा जोड दिने हो र पहाड र हिमालमा ध्यान दिने हो । यसमा कुनै द्धिविधा राख्ने होइन ।’
उनले भने– ‘अन्यथा नपरोस्, हिमाल पहाड तराई सबैमा सन्तुलित लगानी गर्ने हो । तर, जहाँ छिटो प्रतिफल आउँछ त्यहाँ पहिले लगानी गर्ने हो, त्यो प्रतिफल बाडेर पछाडि परेका क्षेत्रलाई तान्ने हो । प्रतिफल कम आउने ठाउँमा साधन स्रोत खर्च गर्दा अर्थतन्त्र बढी प्रभावकारी हुँदैन । त्यसो हुनाले अहिले तराई मधेसमा नै पहिलो प्राथमिकता दिने हो ।’
तराई मधेसमै लगानी किन गर्ने ? यसबारे उनले भने– ‘त्यहाँ जुन खालको जमीन छ, उर्वरा भूमि छ, वैदेशिक व्यापार गर्ने सुविधा पनि छ, उद्योग धन्दामा लगानी गर्ने वातावरण पनि छ, जनशक्ति पनि छ ।’
संविधान संशोधन विषयमा पनि भट्टराई बोले– ‘जबसम्म सबैलाई सन्तुष्ट पार्ने गरी संविधान संशोधन गरी पूर्णता दिइँदैैन, तबसम्म दिगो शान्ति हुँदैन, दिगो शान्ति बिना आर्थिक विकास र समृद्धि हुँदैन ।’ बाबुरामले सरकारको भने खासै आलोचना गरेनन्, बरु नरम देखिए । उनले फूलको आँखामा फूलै संसार गीत उदृत गर्दै प्रतिपक्षले काँडैकाँडा देख्नु र सत्तापक्षले फूल मात्र देख्नु स्वाभाविक भएको बताए ।
‘यही सरकारले नै सबैथोक गल्ती गर्यो भन्न नसकिएला’– उनले भने ।
चिनियाँ नेता देङ स्याओ पिङको विगतमा आफूहरुले आलोचना गरेको स्मरण गर्दै तेङले ‘केही मानिस धनी होउ, पछि सबै धनी होउ’ भनेको र चीन त्यही बाटोमा गएर सफल भएको बताए ।
उनले भने– ‘सबैलाई एकैपटक धनी बनाउन सकिँदैन, कुनै ठाउँको विकास पहिले हुन्छ, अरु ठाउँको पछि हुन्छ । यसमा प्रष्टता चाहिन्छ ।’
