काठमाडौं । ‘प्रत्येक दिन तीन अर्ब ६७ करोड रुपैयाँ ब्यापार घाटा ब्यहोरिरहेको छ चालु आर्थिक वर्षको नौ महिनामा ब्यापार घाटा करीब नौ खर्ब ९१ अर्ब रुपैयाँ पुगेको छ भने १० खरब ६१ अर्ब रुपैयाँको आयात भएकोमा निर्यात चाहिँ ७० अर्बमा सीमित छ ।
अर्थतन्त्रको यो दर्दनाक तस्विर प्रस्तुत गरेका हुन् पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका सांसद ज्ञानेन्द्रबहादुर कार्कीले । प्रतिनिधिसभाको आजको वैठकमा बजेटका सिद्धान्त र प्राथमिकता सम्वन्धमा बोल्दै उनले भने– ‘चालु आर्थिक बर्षको अन्त्यमा १४ खर्ब ३० अर्ब रुपैयाँ ब्यापार घाटा हुने अनुमान छ ।’
चालु आर्थिक बर्षमा आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने लक्ष राखिएको मा ६ दशमलव आठ हासिल गरिएको उनले बताए । मौसम अनुकूल भएकाले कृषि उत्पादन राम्रो भएको र आर्थिक वृद्धिदर बढेको देखिएको उनले बताए ।
‘प्रत्येक दिन तीन अर्ब ६७ करोड रुपैयाँ ब्यापार घाटा ब्यहोरिरहेको छ । यो घाटा रेमिट्यान्सले पूर्ति गरेको छ । तर यो स्थायी समाधान होइन’– कार्कीले भने ।
०७४ चैत्र १६ मा अर्थमन्त्रीले श्वेतपत्र जारी गरी देशको अर्थतन्त्र टाट पटिल्न लागेको भनेको कुरा स्मरण गर्दै उनले सोधे– ‘म अर्थमन्त्रीजीलाई प्रश्न गर्न चाहान्छु । उहाँले एक वर्ष भित्रमा कुन त्यस्तो चमत्कार गर्नुभयो र अहिलेको संमृद्धिको आधार खडा भएको छ ?’
‘विनियोजन विधेयकको प्राथमिकता र सिद्धान्तमा मौलिक हक प्रेस स्वतन्त्रता पर्छ की पदैन ? अहिले पत्रकारहरुले मिडिया काउन्सिल बिधेयकको विरोध गरिरहेका छन्’– उनले भने ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले ६५ बर्षको उमेरमा बृद्ध भत्ता दिने र असाध्य रोगबाट पीडितहरुलाई सहयोग दिने, सामाजिक सुरक्षा सहयोग स्वरुप मासिक पाँच हजार रुपैयाँ दिने व्यवस्था मिलाएको तर यो सरकारले खारेज गरेको उनले दावी गरे ।
पर्यटन बर्ष मनाउने कुरा गरिएको तर राष्ट्र बैकको तथ्याङ्क अनुसार पर्यटनको आय यो बर्षको पहिलो आठ महिनामा जम्मा नौ दशमलव पाँच प्रतिशत मात्र बढेको उनले बताए ।
