काठमाडौं । आज प्रतिनिधिसभामा तीनजना पूर्व अर्थमन्त्रीले अर्थपूर्ण भाषण गरेका छन् । डा. बाबुराम भट्टराई, सुरेन्द्र पाण्डे र ज्ञानेन्द्रबहादुर कार्कीले आउँदो बजेटको सिद्धान्त र प्राथमिकता सम्वन्धमा बोलेका हुन् ।
सबैभन्दा पहिले डा. भट्टराईले बोले । उनले पहाड र हिमालमा बजेट घटाएर तराई मधेसमा लगानी केन्द्रीत गर्नुपर्ने बताए । लगत्तै बोलेका नेकपाका सुरेन्द्र पाण्डेले बाबुरामको यो विचारको खण्डन गरे ।
बाबुरामको विचार उदृत नगरी सुरेन्द्रले कफी खेतिको उदाहरण दिएका थिए । देशभर नै कफी खेतिको सम्भाव्यता रहेको भन्दै उनले पूर्वी पहाड र पश्चिम पहाडको कफी बुटवलको उद्योगमा ल्याएर प्रशोधन गरेर लाभ नहुने बताए । बाबुरामले उद्योग धन्दाहरु तराई मधेसमा केन्द्रीत गर्नुपर्ने धारणा राखेका थिए ।
नीति तथा कार्यक्रम अर्धनिद्रामा लेखिएको भनी बाबुरामले गरेको टिप्पणी अशोभनीय भएको सुरेन्द्रले दावी गरे । ‘अल्छी मानेर लेखेको होइन, यसो भन्न सुहाउँदैन’– उनले भने ।
नीति तथा कार्यक्रमका दुई सय १८ वटा बूँदामध्ये एकसय ५० वटा जति बूँदाले पैसा माग गर्ने टिप्पणी गर्दै सुरेन्द्रले अगाडि भने– ‘पूर्व बजेटका सिद्धान्त र कार्यक्रममा आधारित भएर बजेट आयो भने राम्रो हुनेछ ।’
