काठमाडाैं । नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजालले बजेट बनाउँदा राजनीतिक पूर्वाग्रहबाट माथि उठेर काम गर्न सरकारलाई अाग्रह गरेका छन् ।
वाम विचारबाट आउने बजेटले विकास गर्न नसक्ने भन्दै उनले अहिले पनि राजनीति र दलीय भावनाले सिद्धान्त र प्राथमिकतालाई धकेल्ने काम भएको टिप्पणी गरे । प्रतिनिधिसभाको सोमबारको बैठकमा सरकारको आगामी बर्षको बजेटका सिद्धान्त र प्राथमिकतामाथिको छलफलमा बाेल्दै उनले विगतमा योजना गए पनि बजेट नपठाउने काम भएको बताए ।
उनले भने, ‘म भ्रष्टाचार गर्दिनँ, सहन्नँ, जति भने पनि फोहोर भएपछि झिंगा त लाग्छ नै । झिंगा लाग्ने क्रम हरेक दिन समाचारमा आएको छ । एउटा ठाउँमा नभएर हरेक ठाउँमा भ्रष्टाचार भइरहेकाे छ ।’
सरकारले ल्याएको मानवअधिकार आयोग सम्बन्धी विधेयक लगायतका विधेयकहरुमा गरिएको व्यवस्था तथा सूचना प्रविधिलाई नियन्त्रण गर्ने, मिडियालाई नियन्त्रित गर्ने र राष्ट्रिय प्राथमिकताका योजना भनेर सबै खर्च केन्द्रीकृत गर्ने कामले विदेशी लगानी नआउदैन स्वदेशी लगानी पनि नबढ्ने दाबी रिजालले गरे ।
बिप्रेषणको आम्दानीलाई जनताको पक्षमा प्रयोग गर्न सरकारले स्पष्ट आयोजना ल्याउन नसकेको भन्दै उनले सरकारले चालु आर्थिक बर्षलाई आधार बर्ष बनाउने भनेपनि इतिहास रच्ने र तिब्र बिकास गर्ने बर्ष बनाउने ढंगको सिद्धान्त र प्राथमिकता नआएको टिप्पणी गरे ।
अघिल्लो बर्षको १० महिना भन्दा अहिलेको १० महिनामा पूँजीगत खर्च कम भएको , राजश्व संकलन, विदेशी ऋण, अान्तरिक ऋण, स्थानीय तहको खर्च लगायतमा गरिएको अनुमान स्वभाविक नभएको उनले बताए ।
