काठमाडौं । चीनसँग जोडिएको तातोपानी नाका जेठ २० बाट खुल्ने जानकारी सांसद अग्नि सापकोटाले प्रतिनिधिसभा वैठकमा दिएका छन् । सिन्धुपाल्चोकका सांसद सापकोटाले सो क्षेत्रमा सरकारले सडक र अन्य संरचना निर्माण तथा मर्मत गर्न पर्याप्त ध्यान नदिएको तर चीनतर्फ तिब्र गतिमा तयारी भइरहेको बताए ।
मान्छे किन डराइरहेको छैन ? सांसदसापकोटाले प्रतिनिधिसभामा वैठकमा बोल्दै भने– ‘मान्छे किन डराइरहेको छैन भन्ने बारेमा थाहा पाउन सर्जरी गर्न आवश्यक छ ।’
उनले अगाडि भने– ‘कारबाही भइरहेको छ तैपनि भ्रष्टाचार भइरहेको छ । अराजकता भइरहेको छ । यसका सम्वन्धमा सर्जरी गर्न तयार हुनुपर्छ ।’
बजेटका सिद्धान्त र प्राथमिकता उपर प्रतिनिधिसभामा भएको वैठकमा उनले भने– ‘राष्ट्रपति विद्यादेवी भण्डारी चीन जानुभयो, सहमतिहरु भएको छ तर त्यसबारेमा नेपालमा खासै छलफल भएको छैन, छलफल आवश्यक छ । पारवहन प्रोटोकलमा जे सन्धी भएको छ, त्यसबारे गम्भीर छलफल गरेर अगाडि बढाउनुपर्छ ।’
‘त्यो सन्धी असाधारण छ, नेपालका लागि ठूलो उपलब्धी हो’– उनले भने ।
