काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले राष्ट्रिय सभामा दर्ता भएको मिडिया काउन्सिल विधेयकलाई अगाडी बढाउन नदिने बताएको छ । संघीय संसद्को प्रतिनिधिसभाको वुधबारको बैठकको सुरुमै कांग्रेस सांसदहरुले उठेर यसबारे सभामुखको ध्यानाकर्षण गराएका थिए ।
प्रतिनिधि सभाको विशेष समयमा बोल्दै कांग्रेस सांसद पुष्पा भुषालले संविधान विपरितका प्रावधान राखेर विधेयक ल्याइएको बताइन् । भुषालले भनिन्–‘पत्रकारलाई नियन्त्रण गर्न खोजिएको छ त्यसैले यो विधेयकलाई कुनै पनि हालतमा अगाडि बढाउन दिदैनौं ।’ उनले विधेयक प्रक्रियामा नै जान नदिने चेतावनी पनि दिइन् ।
सरकारले अलोकतान्त्रिक विधेयक ल्याएको भुषालको आरोप छ । उनले मानव अधिकार आयोग ऐनलाई संशोधन गर्न ल्याएको विधेयक कांग्रेसले स्वीकार नगर्ने दाबी पनि गरिन् । अन्तराष्ट्रिय रुपमा नेपालले व्यक्त गरेका प्रतिबद्धता विपरीत विधेयक ल्याइएको उनको दाबी छ ।
यसअघि कांग्रेस संसदिय दलको बैठकले समेत संघीय संसदमा दर्ता भएका तीन वटा विधेयक तत्काल फिर्ता लिन माग गरेको थियो ।
सरकारले राष्ट्रियसभामा नेपाल मिडिया काउन्सिल सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक दर्ता गरेको छ । त्यसैगरी प्रतिनिधिसभामा राष्ट्रिय मानव अधिकार आयोग ऐन २०६८ लाई संशोधन गर्न बनेको विधेयक र राष्ट्रिय सुरक्षा परिषद्को काम, कर्तव्य र अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक दर्ता गरेको छ ।
