काठमाडौं । गृहमन्त्री राम बहादुर थापाले आइतबार काठमाडौंमा भएको बम विष्फोटमा परी निधन हुनेहरु नागरिक नभएर अपराधी भएको बताएका छन् । प्रतिनिधिसभा वैठकमा बोल्दै उनले सो कुरा बताएका हुन् ।
उनको सो अभिव्यक्तिमा सांसदहरुले आपत्ति जनाएका छन् ।
गृहमन्त्रीको जवाफपछि बोल्दै नेकपाका सासंद महेश बस्नेतले गृहमन्त्रीको ‘मारिने नागरिक नभएर अपराधी भएको’ भन्ने टिप्पणीप्रति खुसी प्रकट गर्दै त्यस्तो अभिव्यक्तिका लागि गृहमन्त्रीलाई धन्यवाद ज्ञापन गरेका छन् ।
उनले आफू आज भक्तपुरबाट बानेश्वरस्थित संसद् भवन आउँदा कोटेश्वरमा १० मिनेट ट्राफिक जाममा फसेको भन्दै बन्द असफल भएको र विप्लवलाई जनताले अस्विकार गरेको बताए ।
उनले विप्लवलाई प्रतिबन्ध लगाउँदा पनि विरोध गर्ने र विप्लवले बम विस्फोट गराउँदा पनि विरोध गर्ने दोहोरो काम प्रतिपक्षीले गरेको बताए ।
वैठकमा बस्नेत पछि बोलेका कांग्रस सांसद राजेन्द्र केसीले आइतबारको बम विस्फोटले राजधानीवासी त्रसित भएको र बालबालिका त्रासका कारण विद्यालय जान नचाहेको बताए । सिंहदरबार नजिकै बम विस्फोट भएको र यस्ता घटनाबारे गृहमन्त्रीलाई पूरानो अनुभव भएको भनी कटाक्ष गर्दै गृहमन्त्रीसँग केसीले जवाफ मागे ।
कांग्रेसकै अर्का सांसद अमरेश कुमार सिंहले यस सरकारले आफूसँग आस्था नमिल्ने समूहलाई पक्राउ गरेको तर निर्मला हत्याकाण्डका हत्याराहरुलाई भने पक्राउ नगरेको बताए । उनले भने– ‘हिजो एउटा कम्युनिष्ट पार्टी सरकारमा रहेको अवस्थामा अर्काे संघर्ष र आतंक फैलाउन लागेको थियो । तर पछि दुबै एक भए । कतै यसपटक पनि एउटा सरकारमा बस्ने अर्काे आतंक फैलाउने तर अन्तिममा एक हुने त होइन ?’
गृहमन्त्री थापाले प्रतिपक्षका सांसदहरुको जवाफ दिँदै शान्ति सुरक्षा कायम गर्न सरकार सफल रहेको अभिव्यक्ति दिएका छन् ।
‘हाम्रो निष्कर्ष के हो भने, यो सरकार गठन भएदेखि यहाँसम्मको समीक्षा गर्दा देशमा शान्ति सुरक्षा कायम गर्न मूलभूत रुपमा सरकार सफल रहेको छ’, थापाले भने ।
उनले विभिन्न तथ्यहरुले यस कुराको पुष्टि गर्ने समेत बताएका थिए ।
लगत्तै उनले आफ्नो अभिव्यक्तिलाई केही सुधारेका थिए । उनले भने– ‘हामीले सम्पूर्ण रुपमा शान्ति सुरक्षा कायम गर्न सक्यौं भन्ने हाम्रो निश्कर्ष होइन तर हाम्रो सरकार यसलाई पूर्णता दिनका निम्ति प्रयासरत छ ।’
प्रतिपक्षका सांसदहरुले निर्मला पन्तका हत्यारा आजसम्म पक्राउ नपरेको र पाँचथरमा भएको हत्याकाण्डको पनि सत्यतथ्य बाहिर नआएकोमा सरकार असफल देखिएको बताएका थिए । यस्तै गृहमन्त्रीले ‘मारिनेहरु नागरिक नभएको’ भन्ने अभिव्यक्तिमासदनमा ठूलो विवाद भएपछि गृहमन्त्रीले जवाफ दिने क्रममा सरकार सफल रहेको बताएका थिए ।
उनले आफूले बोलेको ‘मारिनेहरु नागरिक होइनन्, अपराधी हुन्’ भन्ने अभिव्यक्ति सही भएको बताएका छन् । ‘म फेरी पनि स्पष्ट पार्न चाहन्छु, यी सामान्य नागरिक होइनन् भन्ने नै मेरो भनाई हो’, उनले भने ।
