काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले विप्लव समूहप्रति सरकारको नीति स्पष्ट भएको बताएका छन् । ‘सर्पले सर्पको खुट्टा देखेपनि कम्युनिष्ट सरकार नै अर्काे विद्रोही कम्युनिष्ट समूहलाई नियन्त्रण गर्न नसकेको’ भन्ने अभिव्यक्ति आएपछि गृहमन्त्री थापाले यस सन्दर्भमा सरकार स्पष्ट भएको बताएका हुन् ।
‘यस समूह (विप्लव) प्रति राज्यले दाहोरो नीति लिएको छ । पहिलो त वार्ताबाटै समाधान गर्न जोड दिँदै आएको हो तर हामीले वार्ता समिति बनाएर वार्ता गर्दापनि निष्कर्ष नआएपछि सरकारले अर्काे नीति अनुसार प्रतिबन्ध तथा नियन्त्रणको नीति लिएको छ’ उनले भने ।
उनले मूल रुपमा विप्लव समूहलाई नियन्त्रण गर्न सफल भएपनि पूर्ण रुपमा नियन्त्रण गर्न भने बाँकी रहेको बताए । उनले यसैलाई आधार मानेर सरकार असफल भएको भन्ने नबुझ्न आग्रह गरे ।
विप्लव समूह झन् बढी शक्तिशाली भएको, समूहको मनोबल उठेको जस्ता कुरा निराधार रहेको समेत गृहमन्त्री थापाले बताए । ‘त्यस किसिमको कुरालाई विश्वास गर्ने वस्तुगत आधारहरु छैनन् । हिजो र आजको अवस्था गुणात्मक रुपले भिन्न छ’, उनले भने, ‘यो समूह क्रमश खुम्चिँदै गएको छ । सही बाटो नलिएको अवस्थामा पतन निश्चित छ ।’
