काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपालको धर्म, संस्कृति, परम्परा र मौलिकतालाई जोगाउने गरी नै गुठी विधेयक ल्याइएको बताएकी छन् ।
राष्ट्रियसभाको सोमबारको बैठकमा विधेयक बारे सांसदले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री अर्यालले भनिन् - ‘गुठी विधेयक संविधानको प्रतिकूल होइन, अनुकूल नै छ, शङ्का नगरौँ, अझै राम्रो कसरी बनाउन सकिन्छ भन्नेबारे छलफल गर्न सकिन्छ ।’
मन्त्री अर्यालले गुठीबारे एकरुपता ल्याउनका लागि प्राधिकरणको विषय विधेयकमा ल्याइएको बताउँदै गुठीलाई अलिक वैज्ञानिक हिसाबले अगाडि बढाउन खोजिएको प्रष्ट पारिन् ।
निजी गुठीलाई सार्वजनिक बनाउन सकिने तर सार्वजनिक गुठीलाई बनाउनै सकिँदैन भन्दै उनले गुठी विधेयकबारे आशङ्का नगर्न आग्रह समेत गरिन् ।
सोमबार बिहान ११ बजेर १० मिनेटमा शुरु भएको बैठकमा प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदले बैठक शुरु हुनासाथ उठेर विरोध जनाएपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।
नेवा राजनीतिक अभियान तथा नेवा गुठी सङ्घसंस्थाले गुठीसम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५ खारेज गर्नुपर्ने माग गर्दै आइतबार माइतीघरमण्डलमा गरेको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरी प्रशासनले धरपकड तथा लठ्ठी प्रहार गरेको भन्दै सो विषयमा सरकारसँग स्पष्ट जवाफको माग गरी सांसदले बैठकमा अवरोध गरेपछि बैठक स्थगित भएको थियो ।
सो घटनाबारे गृहमन्त्रीले बैठकमा जवाफ दिने आश्वासन पाएपछि बैठक शुरु भएको थियो ।
बैठकमा नेपाली काँग्रेसका राधेश्याम अधिकारीले गुठी विधेयक सामान्य होइन भन्दै यसले समाजमा ल्याउने समस्याबारे संसद्लाई जानकारी गराउँदा समेत सुनुवाइ नभएको भनी आपत्ति जनाए । सांसद वृषेशचन्द्र लाल र सरिता प्रसाईँले गुठी विधेयक संशोधन गर्नुपर्ने माग गरे ।
