काठमाडौं । सरकारले ल्याएको गुठी विधेयकको सासंदहरुले चर्को आलोचना गरेका छन् । प्रतिनिधिसभाको वुधबारको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी नेपालका सांसदहरुले विधेयकको चर्को विरोध गरेका हुन् ।
उनीहरुले विधेयक फिर्ता लिन समेत माग गरेका छन् । काठमाडौँका गुठीयारले आन्दोलन शुरु गरेको भन्दै उनीहरुले आन्दोलनकारीका माग पूरा गर्न समेत सरकारको ध्यानाकर्षण गराएका छन् ।
वुधबारको बैठकको सुरुमै कांगेसका सांसदले उठेर विरोध गरेपछि सभामुुख कृष्ण बहादुुर महराले कांग्रेस सांसद प्रकाशमान सिंहलाई बोल्न समय थिएका थिए ।
सिंहले गुठीको अस्तीत्व नै मेट्ने गरी सरकारले नियोजित रुपमा विधेयक ल्याएको आरोप लगाए ।
उनले गुठीसम्बन्धी विधेयकलाई सरकारले फिर्ता लिई सम्बन्धीत निकायसँग छलफल गरी परिमार्जन गर्न ध्यानाकर्षण गराएका छन् ।
उनले भने – ‘सरोकारवालाहरुसँग छलफल नै नगरी यो विधेयक ल्याइएको छ । यो संविधान विपरीत छ । कसका लागि ल्याइएको हो ? किन ल्याइएको हो ? म सरकारको ध्यानाकार्षण गराउन चाहान्छु ।’
त्यसैगरी राजपाका सांसद राजपाका सांसद अनिलकुमार झाले गुठी विधेयक पुर्खादेखि चल्दै आएको संस्कृतिमाथि हस्तक्षेप हुने गरी ल्याइएको भन्दै विरोध गरे ।
‘परम्परा देखिका सरकारहरुले आफ्नो धर्म र संस्कृतिलाई जोगाउन लाखौं रोपनी जग्गा गुठीको नाममा दिए । तर, वर्तमान सरकारले धर्म र संस्कृति मास्ने नियतले त्यस्ता जग्गा समेत आफ्नो नाममा गर्ने गरी विधेयक ल्याएको छ । यो गलत हो’ झाले भने ।
सांसद झाले कुनैपनि देशको संस्कृतिमाथिको प्रहार सानो कुरा नभएको भन्दै पुर्नविचार गर्न सरकारको ध्यानाकार्षण गराए ।
उनले भने ‘सरकार कसको प्रचारमा लागेको छ ? देशलाई के बनाउदै छ ? भन्ने कुरा सबैले बुझ्न थालिसके ।’ यस्तै उनले लाल आयोगको प्रतिवेदन कार्यान्वयन गर्न समेत माग गरेका छन् ।
कांग्रेसका सांसद दिव्यमणी राजभण्डारीले लिच्छवी कालदेखि रहेको गुठीको संस्कार अहिलेको ‘सुखी नेपाली समृद्ध नेपाल’ले निस्तेज पारेको बताए । उनले गुठी विधेयक फिर्ता लिन माग गरेका छन् ।
‘यहाँ सत्ता पक्षहरु धेरै समय काठमाडौं बस्नुभएको छ । कति त काठमाडौंवासीका ज्वाई खलक पनि हुनुभएकाले गुठीको संस्कार बुझेर मात्रै बोल्नु होला’, उनले भने । तर, सत्तापक्षका सांसदले भने विधेयकको बचाउ गरेका छन् ।
नेकपाका सांसद महेश बस्नेतले गुठी नियमनका लागि गुठी विधेयक ल्याइएको बताए । ‘सरकारले गुठी प्राधिकरण बनाएर यसभित्र रहेका वेथिती र विकृति लाई हटाउन विधेयक राष्ट्रिय सभामा दर्ता गराएको हो । जस्तो पशुपति विकास कोषका लागि पनि विकास समिति बनाएको छ । तसर्थ विधेयक गुठी नियमनका लागि ल्याइएको हो भन्ने मेरो बुझाइ छ’, बस्नेतले भने ।’ त्यसैगरी उनले यसको विरोधमा सडक र सदनमा उठेका आवाजलाई सबै समझदारीबाट टुंग्याउन सकिने बताए ।
