काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा प्रतिपक्षी दल राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले संसदको उपहास भएको बताएका छन् ।
लोकसेवा आयोगले संसदको राज्य व्यवस्था तथा सुशासन समितिको निर्णय अनुसार विज्ञापन रद्द नगर्ने भनेपछि सांसद कर्णले संसदको उपहास भएको बताएका हुन् । ‘संसदको निर्णय आयोगले मान्दैन भने, यो भन्दा ठूलो उपहास अर्काे हुन सक्दैन । हाम्रो आवाज सुनिदैन भने हामी यहाँ बसेको के फाइदा भयो’, उनले भने ।
उनले संविधानको मौलिक अधिकार मार्वलको अंगुर नभएको र देखाउन मात्र नबनाइएको भन्दै आयोगले समितिको निर्णय पालना गर्नु पर्छ भन्ने धारणा अघि सारेका छन् ।
यस्तै सांसद विमला विकले पनि ‘लोकसेवा आयोग संसदभन्दा ठूलो हो ?’ भन्दै प्रश्न गरेकी छिन् । उनले संविधानको मौलिक हकमै समानुपातिक समावेसीको व्यवस्था हुने बताइएपनि पनि लोकसेवाको विज्ञापन आएदेखि अपाङ, दलित, थारु, मधेसी लगायतका समुदाय आन्दोलित भएको बताएकी छिन् ।
