काठमाडौं । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सत्तारुढ दल नेकपाकी सांसद रामकुमारी झाँक्रीले सांसदप्रति जनताको नकारात्मक भावना विकास भएको बताएकी छिन् ।
सांसदहरुलाई ल्याप्टप बाँड्ने संसदको निर्णयप्रति आपत्ति जनाउँदै उनले यस्ता कार्यहरुले संसदप्रति नकारात्मक धारणा विकास भएको बताएकी हुन् । ‘सांसदहरुलाई खुद्रा मसिना कुराहरु बाँढ्ने र यसको हुर्मत लिने काम बेलाबखत भइरहेको छ । कहिले ६ करोड संसद विकास कोषको नाममा, ०५१ सालमा गरिएको भन्सार सुविधामा सांसदहरुले गाडी ल्याउने कुराहरुले क्रमशः सांसदहरुलाई जनतासँग ‘डिट्याच’ गरेको र सांसदप्रति जनताको नकारात्मक धारणा विकास भएको देखिन्छ’, उनले भनिन् ।
उनले सस्ता कुरा गरेर सांसदलाई प्रविधिमैत्री बनाउने नाममा सांसदहरुको हुर्मत लिन बन्द गरिनुपर्ने समेत बताएकी छिन् । ‘यो कुरा आपत्तिजनक छ । यस्तो कामले सांसदहरुको मर्यादा बढ्दैन । संसदीय व्यवस्थाको पनि बढ्दैन’, उनले भनिन् ।
