काठमाडौं । नेकपाका सांसद कृष्णभक्त पोखरेलले प्रतिनिधिसभामा गोयवल्सको चर्चा गरेका छन् । उनले गुठी विधेयकमा गोयवल्स शैलीबाट झुठो र भ्रामक प्रचार गरिएको बताए ।
नेकपाका राम्रा वक्तामध्येका हुन् कृष्णभक्त । उनले गोयवल्सको चर्चा गरे तर गोयवल्स को हुन् भन्ने चाहिँ चर्चा गरेनन् । नेपाली राजनीतिमा बारम्बार प्रयोग हुने नाम हो– गोयवल्स ।
गोयवल्स हिटलरका सञ्चार मन्त्री थिए । उनको मान्यता थियो– एउटा झुठलाई सयपटक दोहोरायो भने जनताले त्यसलाई सत्य ठान्न थाल्छन् । अहिले गुठी विधेयक सम्बन्धमा मधेसवादी नेताहरु तथा डा. बाबुराम भट्टराईको अगुवाईमा कांग्रेस लगायतले थालेको आन्दोलन सम्बन्धमा गोयवल्स शैली प्रयोग गरेको कृष्णभक्तले बताए ।
प्रतिनिधि सभा वैठकमा बोल्दै उनले भने– ‘गुठी विधेयक सम्बन्धमा केही दिनदेखि गोयवल्स शैलीबाट जे तथ्य हो त्यो तथ्यमा इंगित नै नगरी सिंगो राष्ट्रमा गलत सन्देश दिने प्रयत्न भइरहेको छ ।’ उनले संविधानलाई उदृत गर्दै भने– ‘संविधानले गुठीको मूलभुत मान्यतामा प्रतिकूल असर नपर्ने गरी गुठी जग्गामा भोगाधिकार गरिरहेका किसान एवं गुठीको अधिकार सम्बन्धमा संघीय संसदले आवश्यक कानून बनाउनु पर्नेछ भनेको छ, त्यही आधारमा विधेयक बनाइएको हो ।’
िगुठी विधेयक राष्ट्रिय सभामा विचाराधीन रहेको बेला त्यो विषयमा प्रतिनिधिसभामा छलफल हुनु संसदीय प्रणालीभित्र तथा हामीले अवलम्बन गरिरहेको लोकतन्त्रभित्र नपर्ने उनले बताए । भोलिका दिनमा प्रतिनिधिसभामा पनि सो विधेयक आउने भन्दै उनले जनताका प्रतिनिधिहरुले संशोधन गर्ने अधिकार अधिकार छँदाछँदै विधेयक धर्म संस्कृतिको विरुद्धमा छ भनेर गलत प्रचार गरिएको विचार राखे । उनले भने– ‘धर्म संस्कृतिको रक्षाका लागि विधेयक आएको छ ।’
धर्म–संस्कृतिको रक्षा, धार्मिक स्थलमा सम्पन्न हुने कार्यका लागि यो विधेयक ल्याइएको छ र यसका लागि धार्मिक स्थल व्यवस्थापन समिति बनाइएको छ भनेर विधेयकको दफा २८ मा लेखिएको उनले बताए ।
विधेयकको प्रस्तावनामै गुठीको मूलभूत मान्यता अनुरुप राजगुठी, सार्वजनिक गुठी र निजी गुठीलाई व्यवस्थित गरी गरी सामाजिक न्यायका आधारमा गुठी व्यवस्थापन गर्ने लेखिएको उनले जिकिर गरे ।
सामाजिक न्यायको पक्षमा गुठी विधेयक आएको छ भन्दै उनले चित्त बुझ्दैन भने आगामी दिनमा विरोधको सूचना दिने, संशोधन गर्ने, यी सम्पूर्ण अधिकार हुँदाहुँदै धर्म बरवाद भयो, कम्युनिष्टहरु धर्म मान्दैनन् भन्ने प्रचार गरिएको बताए ।
कृष्णभक्तले भने– ‘यस प्रकारको गोयवल्स शैलीको प्रचारले संसदको गरिमा बढ्ने होइन घट्ने काम मात्र हुन्छ ।’
