काठमाडौं - सांसद् राजेन्द्र लिङ्देनले गुठीमाथिको हमला सनातन परम्परामाथिको हमला भएको बताएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभा बैठकमा आफ्नो धारणा राख्दै सांसद् लिङ्देनले यस्तो बताएका हुन् । ‘हिन्दू, बौद्ध, किराँत संस्कृति र गुठी हाम्रा नेपाली मौलिकता हुन् ।
खास गरी गुठी परम्परा किराँतकालबाट प्रारम्भ भई लिच्छवीकालमा विकसित भएको हो’, उनले भने, ‘यो हस्तक्षेप केवल गुठियारमाथिको हस्तक्षेप होइन, सनातन परम्परामाथिकै हमला हो ।’
उनले मुलुकका गुठीहरू समाप्त हुँदै गए सबै चाड पर्वहरू लोप भएर जाने खतरासमेत औंल्याए । जंगल र सडकमा हुँदा नेवारलाई नेवा राज्य दिन्छु भन्नेहरूले सत्तामा आएपछि नेवारको गुठी समेत खोसेको आरोप उनले लगाए ।
‘म सरकारसँग आग्रह गर्न चाहन्छु, स्थिति बिग्रनुअगावै यो विधेयक फिर्ता लिएर गुठीलाई संरक्षण र प्रवद्र्धन गर्ने, उपत्यका बाहिरका मोहीहरूका समस्या समेत समाधान हुने गरी नयाँ विधेयक पेस होओस्’, उनले भने ।
यस्तै उनले गुठीहरू सामन्तवादको प्रतीक हो भन्ने सञ्चारमन्त्री गोकुल बाँस्कोटाको भनाइप्रति पनि आपत्ति जनाए । ‘आफ्नो सनातन परम्पराको पक्षमा उभिएका जनतालाई होच्याउने र चिढ्याउने ढंगले गुठी परम्परा सामन्तवादको प्रतीक हो भन्नु आगोमा घ्यु थप्ने काम हो’, आक्रोशित हुँदै उनले भने ।
