काठमाडौं : प्रतिनिधिसभाको बैठकमा कैलाली क्षेत्र नम्बर ३ का सांसद् गौरीशंकर चौधरीले गत जेठ २३ मा आएको आँधीको विषय उठाएका छन् ।
सो आँधीमा परी ठूलो जनधनको क्षति भएको भन्दै उनले क्षतिको विवरण पेस गर्दै उद्धार र राहतको माग समेत गरेका छन् ।
सांसद चौधरीले बताएअनुसार सो आँधीमा परी कैलालीका दुई हजार दुई सय १६ घरमा पूर्ण तथा आंशिक रुपमा क्षति पुगेको छ । दुई जनाले सो आँधीमा परी ज्यान गुमाएका थिए । यस्तै घाइतेको संख्या ७६ पुगेको छ भने कैलालीमा मात्र करिब एक हजारभन्दा बढी बिजुलीका पोल ढलेको अवस्थामा छन् ।
यस्तै कञ्चनपुरमा पनि करिब एक हजार पाँच सय ७१ घरमा पूर्ण तथा आंशिक क्षति पुगेको उनले बताएका छन् । संसदमा उनले बताएअनुसार कञ्चनपुरमा घाइते हुनेको संख्या २५ छ भने पाँच सय ६५ बिजुलीको पोल ढलेका छन् ।
यस्तै महाकालीपारि दोधारा–चाँदनीमा दोस्रो पटकको आँधीमा परी एक सय ८१ घरमा क्षति पुगेको समेत उनले बताएका छन् । उनका अनुसार सरकारले अहिलेसम्म विपद् व्यवस्थापन भनेर केही थान पाल मात्र वितरण गरेको छ ।
‘केन्द्र सरकारले हुरी पीडितका लागि ठूलो राहतको निर्णय र वितरण गर्न सकेको छैन । विद्यार्थीहरू खुल्ला आकाशमुनि बस्ने अवस्थामा छन् । एकातिर ४३÷४४ डिग्री तापक्रम छ भने अर्कातिर बिजुली चालु हुन सकेको अवस्था छैन’, उनले भने, ‘संघीय सरकार, प्रदेश र स्थानीय सरकारले तदारुकताका साथ उद्धार, राहत र व्यवस्थापनतिर छिटो कार्यक्रम ल्याऊन् र त्यहाँका जनतालाई छिटोभन्दा छिटो राहत व्यवस्थापन गरी निर्माण प्रक्रियालाई अघि बढाऊन् ।
