काठमाडौं । आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद् मेटमणि चौधरीले हाल भएका गुठीका जग्गा किसानको भएको भन्दै राष्ट्रियसभामा पेस भएको गुठी विधेयकको पक्षमा आफ्नो मत राखेका छन् ।
उनले भने, ‘देशैभरिका चार लाख ४० हजार नौ सय ९० बिगाहा क्षेत्रफल जमिन दिउँसै डकैत गरेर गुठीको निर्माण गराइएको थियो । यो जमिन किसानकै थियो ।’
उनले ०४६ सालअघि नेपालमा सामन्ती राज्य व्यवस्था रहेको हुँदा आफ्नो व्यवस्था सुदृढ पार्न तत्कालीन शासकले पूरा गाउँका मौजा किसानको नामबाट डकैती शैलीमा जग्गा गुठीको नाममा सारेको समेत बताएका छन् ।
उनले कसरी र कोबाट जग्गा हडपेर उपत्यका बाहिरका गुठी निर्माण भयो भन्ने तथ्य समेत प्रस्तुत गरेका छन् । उनले संसदमा प्रस्तुत गरेको तथ्य यस्तो छ :- दाङ जिल्लामा स्वर्गदारी गुठी, रतननाथ गुठी, अम्बिकेशरी गुठी, शिवप्रशादेश्वर महादेव गुठी लगायत दर्जनौँ गुठी छन् ।
दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा नम्बर ६, पक्वै गाउँ १९६९ मा सगुनी थारु र महावीर थारुको नाममा दर्ता श्रेस्ता थियो । ०१६ सालमा शिवप्रसादेश्वर महादेव गुठीको नाममा पूरै मौजा आयो । ०१८ मा विन्तिराम चौधरीले विरोध जनाएपछि मोठमा ‘झगडिया जग्गा’ भनेर लेखियो र अहिले पनि त्यो जग्गा शिवप्रशादेश्वर महादेव गुठीको नाममै छ ।
यसैगरी स्वर्गद्वारी गुठी २०२८ सालसम्म किसानहरूको थियो । राजा महेन्द्रले २५ बिगाहको हदबन्दीको कुरा ल्याएपछि, २०२८ सालपछि एकैरातमा डकैतीको शैलीमा किसानहरूको नामबाट स्वर्गद्वारी गुठीको नाममा हुन पुग्यो ।
यसैगरी दाङ जिल्ला स्थित काउले गाउँ ०२६ भन्दा अघि गरिब किसानहरूको नाममा थियो । ०२६ सालपछाडि अम्बिकेशरी गुठीको नाममा रहन गयो । अहिले त्यहाँका किसानहरू एक कठ्ठाको एक सय बीस रुपैयाँका दरले अम्बिकेशरी गुठीलाई कुतको रुपमा बुझाउने गर्छन् । जब कि त्यहाँ कठ्ठामा एक सय बीस रुपैयाँ बराबरको उत्पादन नै हुँदैन ।
यसैगरी दोलखा जिल्लाको भेट्पु गाविसमा १९५० भन्दा अगाडि जनताको बसोबार र जनताकै नाममा दुई नम्बर रसिद थियो । तर १९५० पछि पूरै भेट्पु गाविस नै भीमेश्वर गुठीको नाममा रहन गयो । त्यसपछि लगातार भेट्पुका जनता वार्षिक रुपमा बडादसैंको समयमा १७ पाथी ४ माना घ्यु, ठूला–ठूला दुई वटा राँगा, ७७ वटा बोका, दुई सय २९ मुरी धान र दुई सय ८८ मुरी बराबर पैसा रकम र सबैखाले पूजा सामान गरी गुठियारहरूलाई दिन थालियो र त्यो निरन्तर २०३५ सालसम्म चल्यो ।
उपरोक्त उल्लेखित उदाहरण मात्र हो । देशैभरिका चार लाख ४० हजार नौ सय ९० बिगाह क्षेत्रफल जमिन यसरी नै गुठी निर्माण भएको हो भनेर दावाका साथ भन्न चाहन्छु । र दिउँसै डकैत गरेर गुठीको नाममा गराइएको जमिन किसानहरूकै थियो ।’
उनले थप अरु पनि बोल्न चाहे पनि समय अपुग भएपछि बोल्दा बोल्दैको उनको माइकको आवाज बन्द गराइएको थियो । उनले सभामुखबाट तीन मिनेट बोल्ने समय पाएका थिए ।
