काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभामा बोल्न अवरोध गरेको छ । प्रधानमन्त्रीले युरोप भ्रमण तथा गुठी विधेयक बारे बोल्न चाहेका थिए ।
प्रतिनिधिसभा वैठक सुरु हुनु अघि नेपाली कांग्रेसले आफ्ना संसदीय दलका नेता शेरबहादुर देउवाले सबैभन्दा पहिले बोल्न पाउनुपर्ने माग गरेको थियो ।
सभामुख कृष्णबहादुर महराको कार्यकक्षमा सत्तापक्ष र विपक्षबीच भएको वैठकमा विपक्षी कांग्रेसले आफ्ना नेता देउवाले पहिले बोल्न नपाए वैठक अवरुद्ध गर्ने चेतावनी दिएको थियो ।
सभामुख महराले सदनका नेता अर्थात् प्रधानमन्त्री केपी शर्मा ओलीले बोल्न चाहेकाले पहिले प्रधानमन्त्रीले बोल्ने, त्यसपछि प्रतिपक्षी नेता देउवाले बोल्ने निर्णय सुनाए । तर, प्रतिपक्षी कांग्रेसले अस्वीकार गर्यो ।
सदनमा सामान्यतया प्रधानमन्त्रीले बोल्न चाहेमा तत्कालै समय उपलब्ध गराइन्छ । त्यसैगरी प्रमुख प्रतिपक्षी नेताले बोल्न चाहेमा पनि तत्कालै समय दिइन्छ । प्रधानमन्त्री र प्रतिपक्षी नेताले बोल्दा समयावधी समेत निर्धारण गरिँदैन ।
प्रधानमन्त्रीलाई सदनको नेता मानिन्छ । प्रधानमन्त्री, प्रमुख प्रतिपक्षी नेता र सभामुख यी तीन पदका नेताले बोलिरहेको बेला सदनमा सामान्यता अवरोध गरिँदैन । यो परम्परा विपरित कांग्रेसले आज सदन अवरुद्ध गरेको हो ।
प्रधानमन्त्रीले बोल्न सुरु गर्न लाग्दा कांग्रेस सांसदहरुले सभाको अगाडि पट्टिको ‘वेल’ क्षेत्रमा उभिएर नारावाजी गरेका थिए । प्रमुख प्रतिपक्षी नेता देउवा समेत आफ्नो आसनबाट उठेर नारावाजी भएको ठाउँमा उभिएका थिए ।
सभामुख महराले प्रधानमन्त्रीले बोलिसकेपछि प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवालाई समय दिने भनेका थिए । तैपनि कांग्रेस सांसदहरुले अवरोध जारी राखेपछि वैठक भोलिसम्मका लागि स्थगित गरिएको छ ।
