काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद विजय कुमार गच्छदारले प्रधानमन्त्री केपी शर्मा ओलीले राजिनामा दिनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको बिहीबारको वैठकमा बोल्दै सांसद गच्छदारले सरकारको कार्यकारीको नाताले गल्ती विधेयक ल्याएर प्रधानमन्त्रीले गल्ती गरेको आरोप लगाए ।
दुई तिहाईको शक्तिशाली सरकारका प्रधानमन्त्रीले आफैले ल्याएको विधेयक फिर्ता लिनुपर्ने अवस्था भैसकेपछि कुन नैतिकताले पदमा बस्ने भन्ने प्रश्न गर्दै उनले प्रधानमन्त्रीले पदबाट राजिनामा दिनुपर्ने बताएका हुन् । ‘सरकारले संविधानको उल्लंघन गर्दै एकपछि अर्को विधेयकहरु ल्याएकाले प्रधानमन्त्रीलाई कुर्सीमा बस्ने अधिकार छैन्,नैतिक रुपमा राजिनामा दिन तयार हुनुपर्छ’ – गच्छदारले भने ।
विधेयक ल्याएर फिर्ता गर्नु बहादुरी नभएको भन्दै उनले विधेयक ल्याउँदा सरकारका मन्त्रीहरू, प्रतिपक्ष, संसदमा उपस्थित सबै दल र सरोकारवालसँग छलफल गर्नुपर्ने बताए ।
संसदमा टेवल भएका विधेयकहरू संविधानको भावनाविपरित भएको पनि सांसद गच्छदारले बताए ।
उनले सरकारले बलजफ्ती गरेर ल्याएका सबै विधेयक फिर्ता लिन माग गरे । ‘परिवर्तनमा साथ दिने सञ्चारमाध्यम र सञ्चारकर्मीलाई अफ्ठ्यारोमा पार्ने गरी मिडिया काउन्सिल विधेयक ल्याइएको छ । सरकारले यो तत्काल फिर्ता लिनुपर्छ’ - गच्छदारले भने ।
उनले संविधान संशोधनका लागि दिइएको बचन पूरा नगरेमा आपत्ति समेत जनाए ।
