काठमाडौं । युवा तथा खेलकूदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले सरकारले खेलाडीलाई प्रोत्साहन गर्ने कार्यक्रम ल्याएको बताएका छन् ।
विनियोजन विधेयक, २०७६ अन्तर्गत युवा तथा खेलकूद मन्त्रालयको विषयमा उठेका प्रश्नहरुको प्रतिनिधिसभाको आजको बैठकमा जवाफ दिँदै उनले सरकारले बजेटमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा हुने खेलमा खेलाडीलाई प्रोत्साहन गर्ने खालको कार्यक्रम ल्याएको बताए ।
खेलाडीलाई प्रोत्साहन गर्न स्वास्थ्य उपचार, दुर्घटना बीमाजस्ता कार्यक्रम बजेटमा रहेको मन्त्री विश्वकर्माको भनाइ छ ।
उनले प्रशिक्षण र खेलाडीलाई प्रोत्साहन गर्न जरुरी रहेको पनि बताए । ‘खेल क्षेत्रको विद्यमान लगानी हेर्दा उल्लेखनीय उपलब्धि नेपालले हासिल गरेको छ, आगामी आवमा स्वास्थ्य उपचार, आकस्मिक दुर्घटना, भत्ताजस्ता व्यवस्था गरिएको छ, खेल क्षेत्रमा नेपालको वातावरणीय हिसाबले पनि राम्रो सम्भावना छ’ – मन्त्री सुनारले भने ।
उनले नेपालमा सम्भावना रहेको अन्य खेलहरुको विकासमा समेत लगानी गर्ने पनि बताए ।
आगामी आवमा विनियोजित बजेट मितव्यती पारदर्शी ढङ्गले अगाडि बढाउने विश्वास व्यक्त गर्दै मन्त्री सुनारले खेल पर्यटन, साहसिक खेलको माध्यमबाट आर्थिक लक्ष्य हासिल गरी स्वास्थ्य र मनोरञ्जन सम्बन्धी खेललाई राज्यले संरक्षण गर्ने सरकारको नीति ल्याएको जानकारी दिए ।
काठमाडौँ र पोखरामा अन्तर्रा्ष्ट्रिय खेलकूद गर्न सकिने गरी पूर्वाधार तय गर्ने र दशरथ रङ्गशाला पुनः संरचना र विभिन्न स्थानमा नौवटा अन्तर्रा्ष्ट्रिय क्रिकेट मैदानहरु निर्माणाधीन रहेको जानकारी दिए ।
स्थानीय तहमा एक स्थानीय तह एक खेल रङ्गशाला शुरु गर्नका लागि रु ४० करोड बजेट छुट्याएका सबै स्थानीय तहमा र सातै प्रदेशमा रङ्गशाला निर्माणका लागि पूर्वाधार तयार गरिरहेको स्पष्ट पारे । मन्त्री सुनारले आठौँ राष्ट्रिय खेलकूद प्रतियोगिता सञ्चालन गर्नका लागि पूर्वाधारहरु निर्माण भइरहेको र सबै प्रदेशमा अन्तर्रा्ष्ट्रियस्तरको रङ्गशाला निर्माणका लागि बजेट छुट्याएको बताए ।
अन्तर्रा्ष्ट्रिय खेल क्षेत्रको जस्तै गरी देशको सुरक्षित रङ्गशाला र कबर्ड हलहरु निर्माण सरकारले आवश्यक बजेट विनियोजन गरेको पनि उनले बताए ।
