काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडाले दिगो विकास लक्ष्य हासिल गर्न बजेटको आकार बढाउनुपर्ने बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकअन्तर्गत अर्थ मन्त्रालयको विभिन्न शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले यस्तो बताएका हुन् । उनले नेपाल दक्षिण एशियामा सबैभन्दा बढी वैदेशिक ऋण लिने देश रहेको बताए ।
भूकम्पको पुनःनिर्माण सकुञ्जेल वैदेशिक ऋण बढ्न सक्ने उनको भनाइ छ । अर्थमन्त्री खतिवडाले ऋणलाई राष्ट्रिय उत्पादकत्व र द्रुत विकासमा खर्च गर्नुपर्ने बताए ।
अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षको बजेटले आठ प्रतिशत आर्थिक वृद्धि हासिल गर्न सक्ने पनि बताए । ‘सरकारी, निजी र सहकारी लगायत सबै मिलेर काम गर्ने हो भने आठ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्न सकिन्छ’– खतिवडाले भने ।
अर्थमन्त्री डा.खतिवडाले बजेट विनियोजनमा तराई–मधेशलाई उच्च प्राथमिकता दिएको भन्दै भौतिक पूर्वाधारमा मात्र एक अर्बमाथि बजेट विनियोजन गरिएको बताए ।
बैठकमा बोल्दै कांग्रेस सांसद डिला सङ्ग्रौलाले बजेट वितरणमुखी र सस्तो लोकप्रियता हासिल गर्ने खालको रहेको आरोप लगाइन् ।
त्यसैगरी नेमकिपाका सांसद प्रेम सुवालले वैदेशिक ऋण लिएर किन कर्मचारीको तलब वृद्धि गरियो भन्ने प्रश्न गरे ।
जवाफमा अर्थमन्त्री डा खतिवडाले आर्थिक क्षमता बढाएर वितरण गर्दै जाने र जनताको जीवनस्तर माथि उकास्नु नै सरकारको लक्ष्य भएको बताए । उनले शिक्षा, स्वास्थ्य जस्ता आधारभूत सेवा क्षेत्रमा बजेटको बढी चाप रहेको पनि बताए ।
यसैगरी अर्थमन्त्री खतिवडाले विप्रेषणको रकम उपयोग भइराखेको दाबी पनि गरे ।
