काठमाडाैं । संसदीय समितिले विप्लव समूहका सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेल मारिएको घटनाको छानविन गरेर एक साताभित्र प्रतिवेदन बुझाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
आज बसेकाे संसद्को राज्य व्यवस्था समितिले पौडेल मारिएको घटनाबारे गृहमन्त्रीकाे जवाफ माग गरेकाे थियाे । समितिले घटनाकाे छानबिन गरेर एक साताभित्र प्रतिवेदन पेस गर्न गृहमन्त्रीलाई निर्देशन दिएको हाे ।
गत ५ गते सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेहीस्थित जंगलको पश्चिम किनारामा प्रहरीले प्रहार गरेकाे गोली लागेर पौडेलको निधन भएको थियो ।
आजै समितिको बैठकमा जवाफ दिँदै मन्त्री थापाले गस्तीमा रहेका प्रहरीलाई लक्षित गर्दै आक्रमण गर्न थालेपछि प्रहरीले गरेको जवाफी कारबाहीमा पौडेल मारिएको दाबी गरेका थिए ।
समितिको आइतबार बसेको बैठकमा नेकपाका सांसद् जनार्दन शर्माले कुमार पौडेल मारिएकाे विषयमा गृहमन्त्री र स्थानीय जनताकाे कुरा नमिलेकाे भन्दै आक्राेश व्यक्त गरेका थिए । उनले पौडेललाई पञ्चायतकालमा जसरी यातना दिएर मारेको भन्दै घटनाका बारेमा जवाफ दिन गृहमन्त्रीलाई समिति बैठकमा बोलाउन माग गरेका थिए ।
