काठमाडौं । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले विदेशमा उपचार गराउन जानेलाई सरकारले खर्च नदिने बताएका छन् । प्रतिनिधिसभाको मंगलबारको बैठकमा विनियोजन विधेयकअन्र्तगत स्वास्थ्य तथा जनसंख्या मन्त्रालय शीर्षकमा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै उनले भने – ‘विदेशमा उपचार गराउनेलाई सरकारले खर्च नदिने कानूनी व्यवस्था लागू भईसकेको कुरा निवेदन गर्न चाहन्छु ।’
तर, उनले विदेशमा उपचार गराउन जाने इच्छा भएका र पैसा भएकालाई नेपालमै रोक्न सक्ने कानूनी व्यवस्था भने नभएको स्पष्ट पारे । ‘विदेशमा उपचार गराउन जान इच्छा भएको र पैसा भएकालाई रोक्न सक्ने कानुनी प्रावधान छैन’ – यादवले भने ।
उपचारका लागि विदेश जाने प्रचलन देखिएको भएपनि नेपालमा पनि धेरै जोखिमयुक्त उपचार पनि संभव भएको उनको भनाइ छ ।
मन्त्री यादवले विश्वास गरेर नेपालमै उपचार गराउन आग्रह पनि गरे ।
सांसहरुले नेपालमा उपचार हुने रोगलाई पनि विदेशमा उपचार गराउन जाने गरिएको र त्यसले राज्य कोषको ठुलो रकम खर्च भएको भन्दै सांसदहरुले मन्त्रीको ध्यानाकर्षण गराएका थिए ।
त्यसैगरी उनले सरकारले सबै नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क गर्ने गरी काम गरिरहेको बताए । ‘संविधानले गरेको व्यवस्था अनुसार आधारभूत स्वास्थ्य सेवा निशुल्क र सबैलाई उपलब्ध गराउने नीति अनुसार नै काम भइरहेको छ ’ – यादवले भने । उनले विपन्न वर्ग र गरिब जनताहरुको स्वास्थ्य उपचारका लागि आधारभूत स्वास्थ्य सेवा निशुल्क र सबैलाई उपलब्ध गराउने नीति अनुसार सरकारले काम अघि बढाइरहेको बताएका हुन् ।
उनले वडा वडामा स्वास्थ्य संस्था स्थापना गर्ने काम अघि बढाइएको उल्लेख गर्दै आगामी वर्षमा सबै वडामा स्वास्थ्य संस्था स्थापना भइसक्ने दाबी गरे ।
नेपाल लगायत विश्वभर नै नसर्ने रोगका रोगीहरु तीव्र गतिमा बढ्दै गईरहेको भन्दै त्यसका लागि सरकारले डायलासिस सेवा निशुल्क गराएको र किड्नी ट्रान्सपलान्ट गर्नेलाई आर्थिक सहयोग उपलब्ध गराउने गरेको बताए ।
त्यसैगरी क्यान्सर लगायतका ८÷९ किसिमका रोगहरु उपचारका लागि सरकार आर्थिक सहयोग उपलब्ध गराउदै आएको पनि स्पष्ट पारे ।
त्यसैगरी उनले स्वास्थ्य क्षेत्रलाई प्रभावकारी बनाउन विभिन्न अस्पतालहरुको स्तरउन्नोति गर्ने काम गरिरहेको पनि बताए ।
