काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले आज एउटा ठूलो खड्गो पार गर्दै छ । प्रतिनिधिसभाले आज संघीय बजेट पूर्ण रुपमा पारित गर्दै छ । यसका लागि प्रतिनिधिसभाको बैठक अपराह्न ४ बजे बस्ने भएको छ ।
बजेट पारित गर्नुपर्ने भएकाले आजको बैठकमा अनिवार्य उपस्थित हुन सत्तापक्ष नेकपाले आफ्ना सांसद्हरुलाई ह्वीप जारी गरेको छ । नेकपाका प्रमुख सचेतक देव गुरुङले सांसद्हरुलाई अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरेका हुन् ।
बजेट पारित हुन केही विधेयकहरु पारित गर्नुपर्ने हुन्छ । गत असार १० गते विनियोजन विधेयक पारित भइसकेको छ भने अन्य आश्रित विधेयकसहित समग्र बजेट आज पारित हुन लागेको हो ।
आजको बैठकले ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक, नेपाल सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक पारित गर्ने भएको हो ।
प्रतिनिधिसभाले पारित गरेर उक्त बजेट राष्ट्रियसभामा पठाउने छ । राष्ट्रियसभाले स्वतः बजेट पारित गर्ने छ ।
