काठमाडौं । हिजो पुस्तक पसल भएको ठाउँमा आज सुन पसल छ, रक्सी पसल छ, पुस्तक पसल हराउँदै गएको छ– यो विचार राखेका हुन् नेपाली कांग्रेसका सांसद प्रदिप गिरिले ।
प्रतिनिधिसभा वैठकमा उनले भने– ‘काठमाडौंका ७५ प्रतिशत पुस्तक पसल बन्द भएको छ ।’
‘तथाकथित संचार क्रान्तिमा लागेकाहरु सस्ता मनोरञ्जनमा लागेका छन्’– यसो भन्दै प्रदिपले उपभोक्तावादी संस्कृति बढ्दै जाँदा पुस्तक पढ्ने चलन हराउँदै गएको गुनासो गरे ।
उनले भने– ‘धेरै पसल बन्द भए, पुस्तक पसल चलाइरहेकाहरुलाई पनि म गएर सोध्छु– कसरी पसल चलाइरहनुभएको छ ? कसरी खान पुग्छ ?’
यस्तो अवस्थामा रहेको पुस्तक व्यवसायलाई अतिरिक्त करभार लगाएर निरुत्साहित नगर्न उनले सरकारलाई अपिल गरे ।
विगतमा नेपाली कांग्रेसको सरकारले पुस्तकमा कर लगाएको स्मरण गर्दै उनले भने– ‘धेरै वर्ष अघि अर्थमन्त्री रहँदा डा. रामशरण महतले पुस्तकमा कर लगाउनुभएको थियो । पछि त्यो फिर्ता लिइयो । अहिले फेरि पुस्तकमा कर लगाइएको छ ।’
‘यतिका वर्षपछि, यति ठूलो क्रान्तिपछि, पुस्तकका शौखिनहरु सत्तारुढ दलमा भएपछि, स्वय विद्धान प्रधानमन्त्री सरकारमा रहेपछि विभिन्न नाउँमा विभिन्न तरिकाले पुस्तकलाई करको दायरामा ल्याइएको छ’– प्रदिपले भने ।
‘नेपाली उखान छ, कुरो र कुलो जता लगे पनि हुन्छ’– उनले अगाडि भने– ‘तथाकथित संचार क्रान्तिमा लागेकाहरु सस्ता मनोरञ्जनमा लागेका छन् । काठमाडौं सहरमा भएका पुस्तक पसल ७४ प्रतिशत बन्द भएको छ । न्यूरोडमा हेर्नुहोस्, पुस्तक पसलको ठाउँ सुन पसल र रक्सी पसलले लिएको छ ।’
‘कर लगाइनु सरकारको पुस्तक विरोधी नीतिको अभिव्यक्ति होइन होला’, सांसद प्रदिपले भने– ‘पुस्तकमा कर लगाइनु अभिव्यक्ति स्वतन्त्रताको विरोधको प्रतिक होइन होला । त्यसैले म निवेदन गर्न चाहन्छु, पुस्तकमाथि करभार थप्ने कुरालाई समाप्त गरियोस् ।’
