काठमाडौं । आगमी आर्थिक वर्ष ०७४/०७५ को वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश भएको छ ।
राष्ट्रिय सभाको आईतबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकालले आर्थिक वर्ष ०७४/०७५ को सरकारको वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।
संविधानको धारा ५३ बमोजिमले सरकारले आफ्नो वार्षिक प्रतिवेदन राष्ट्रिय सभामा पेश गरेको संघीय संसद सचिवालयले जनाएको छ ।
प्रतिवेदनमा सरकारको आर्थिक वर्ष २०७४/०७५ को कार्य प्रगति विवरण उल्लेख गरिएको छ ।
बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका राष्ट्रिय सभाकी सांसद अनिता देवकोटाले खानेपानी मन्त्रालयको खर्च कटौतीका लागि संशोधन प्रस्ताव पेश गरिन् । सांसद देवकोटाले खानेपानी मन्त्रालयको ‘पदाधिकारीलाई इन्धन’ शीर्षकमा विनियोजन गरिएको बजेट कटौती गरी ‘एक रुपैयाँ’ कायम गरियोस् भन्ने संशोधन प्रस्ताव पेश गरेकी हुन् ।
सरकारले आगामी आर्थिक वर्षको खानेपानी मन्त्रालयको बजेटमा पदाधिकारीलाई इन्धनका लागि बजेट विनियोजन गरेको थियो । जुन बजेट फजुल खर्च भएकाले त्यसलाई कटौति गरेर एक रुपैयाँ कामय गर्न सरकारसँग कांग्रेस सांसद देवकोटाको माग छ ।
बैठकमा विभिन्न मन्त्रालयको विनियोजन शीर्षकमाथिको छलफलमा भाग लिँदै सांसद भैरवसुन्दर श्रेष्ठले भूमिहीनलाई लालपुर्जा वितरण गर्न आवश्यक कानूनी व्यवस्था तत्काल गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालसँग माग गरे ।
यसैगरी कांग्रेसका सांसद प्रकाश पन्तले भूमिहीनलाई जग्गा उपलब्ध गराउने काम अझै हुन नसकेको भन्दै सरकारको आलोचना गरे ।
नेकपाकी सांसद दिलकुमारी रावल थापाले सहकारी संस्थालाई व्यवस्थित रूपमा परिचालन गर्न सरकारलाई सुझाव दिइन् ।
बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी छ ।
