काठमाडौं । नेपालको संसदीय इतिहासमा पहिलो पटक सांसदहरूको भिडियो प्रोफाइल तयार पारिएको छ । ६१ औँ संसद दिवसको अवसरमा सिंहदरबारस्थित कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको सभाहलमा आयोजित कार्यक्रममा संसद सचिवालयले तयार पारेको भिडियो प्रोफाइल सार्वजनिक गरिएको हो ।
कार्यक्रममा सभामुख कृष्णबहादुर महराले सरकारको सबै प्रणालीलाई ‘पेपरलेस’ गरी डिजिटलाइज्ड बनाउने अभियान अन्तर्गत नै सांसदहरूको भिडियो प्रोफाइल तयार पारिएको बताए । उनले जनताका समस्या समाधान गर्ने थलोका रुपमा संसदलाई विकसित गरेर संसदीय व्यवस्थालाई परिस्कृत गर्न सबैपक्ष एकजुट हुनुपर्ने बताए ।
कार्यक्रममा पूर्वसभामुख तारानाथ रानाभाटले पछिल्लो समय सत्तापक्ष र प्रतिपक्षबाट नै सभामुखलाई अप्ठ्यारो पार्ने काम भएको बताए । सभामुखलाई तटस्थ भएर काम गर्न दिनुपन रानाभाटको भनाइ छ ।
त्यसैगरी प्रतिपक्ष दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सरकारले संविधानको स्थापित प्रावधानलाई समेत उल्टयाउने प्रयास गरिरहेको आरोप लगाए । उनले संसदीय लोकतन्त्रप्रति विश्वास गर्न पनि आग्रह गरे ।
०१५ साल असार १६ गते पहिलोपटक संसद बैठक बसेको थियो । सोही दिनको सम्झनामा प्रत्येक वर्ष असार १६ गते संसद दिवस मनाउने गरिन्छ ।
