काठमाडौं । प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको खर्च कटौतिको प्रस्ताव पेस गरेका छन् ।
मंगलबार बसेको राष्ट्रियसभाको बैठकमा कांग्रेस सांसद बद्रीप्रसाद पाण्डेले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत विविध शीर्षकको खर्च कटौति गरेर १ सय रुपैयाँ कायम गर्न माग गर्दै खर्च कटौतिको प्रस्ताव पेस गरेका हुन् ।
सांसद पाण्डेले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विविध शिर्षकमा मात्रै १ अर्ब ६४ करोड ८४ बजेट विनियोजन गरेकोमा आपत्ति जनाए । त्यसलाई दुरुपयोग हुन नदिन खर्च कटौतिको प्रस्ताव पेस गरिएको स्पष्ट पारे ।
कांग्रेस सांसद मुक्ताकुमारी यादवले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको कृषकलाई दिने अनुदानको रकम कम भएको भन्दै कटौति गरेर १ रुपैयाँ कायम गर्न माग गर्दै खर्च कटौतिको प्रस्ताव पेस गरिन् ।
सांसद यादवले बजेटमा कृषि क्षेत्रको विकासका लागि ३ प्रतिशत पनि बजेट विनियोजन नगरिएको र किसानहरुको अनुदानका लागि उचित बजेट दिन नसकेकाले आफूले सो मन्त्रालयको बजेट १ रुपैयाँ कायम गर्न माग गर्दै खर्च कटौतिको प्रस्ताव पेस गर्नुपरेको स्पष्ट पारिन् ।
