काठमाडौं । प्रतिनिधि सभाको अन्तराष्ट्रिय सम्बन्ध समितिले आईफा अवार्ड रोक्न सरकारलाई निर्देशन दिएको छ । समितिको मंगलबार बसेको बैठकले अवार्ड रोक्न निर्देशन दिएको हो ।
समितिले आइफा अवार्ड आयोजनाले नेपालको संस्कृति र राष्ट्रिय हितमा प्रतिकूल प्रभाव पार्ने भन्दै रोक्न निर्देशन दिने निर्णय गरेको हो ।
बैठकले यससँग सम्बन्धित सम्पूर्ण जानकारी सरकारबाट माग्ने निर्णय पनि गरेको छ ।
आइफा नेपालमा आयोजना हुने भएपछि धेरैले यसको विरोध गरेका छन् । सत्तारुढ नेकपाका केहि सांसदले पनि यसको विरोध गरेका छन् ।
सरकारले भने आइफा नेपालमा आयोजना हुँदा केहि अप्ठ्यारो नपर्ने बताएको छ ।
आज मात्रै प्रतिनिधिसभाकै विकास तथा प्रविधि समितिमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले आइफाका लागि बजेट नदिइएको तर, कार्यक्रम गर्न स्वीकृती दिएको बताएका थिए ।
उनले आइफा अवार्ड नेपालको हितमा हुने भएकाले त्यसलाई सम्पन्न गरेरै छाड्ने पनि बताए ।
बैठकमा समितिका सदस्यहरुले नेपाली चलचित्र क्षेत्रका लागि केही पनि योगदान दिन नसकेको सरकारले बलिउडका कलाकारहरुको अवार्डका लागि एक अर्ब बजेट दिने समाचार बाहिर आएको भन्दै आपत्ति जनाएका थिए ।
