काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाले प्रेस चल्न नदिने वा कलम दबाउने सरकारको कुनै उद्देश्य नरहेको प्रष्ट पारेका छन् ।
शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा सञ्चारसम्बन्धी विनियोजन शीर्षकमाथि उठेका प्रश्नको जवाफ दिँदै मन्त्री बास्कोटाले प्रेसहरु मज्जाले चलिरहेको भन्दै आफूलाई मन लागेको लेखिरहेकै बताए । उनले भने, ‘प्रेस एकदम राम्रोसित चलिरहेका छन् । सबैले आफूलाई लागेको कुरा, पुष्टि भए पनि नभए पनि गज्जबले गरिराख्न पाउनुभएको छ । त्यसैले यो कुरै छैन जस्तो लाग्छ मलाई । एकदम स्वतन्त्र छ ।’
प्रेस स्वतन्त्रताबारे उठेका प्रश्नको जवाफ दिँदै उनले आफ्नो अनुभव सुनाउँदै भने, ‘मैले यसको बरेमा एउटा कुरा चाहिँ भन्नुपर्यो । म आफ्नै उदाहरण दिन चाहन्छु, कृपया माफ गर्नुहोला । त्यो के भने मैले ५२ हजार प्रतिसम्म छापिने साप्ताहिकमा काम गरेँ । र अन्तिम बिसौनीमा म सात हजारमा धौधौमा परेँ ।’
उनले मिडियाको प्रकारका परिवर्तन आएको भन्दै मिडियाभन्दा सन्देश शक्तिशाली हुने बताए । नेपालमा ठूला भनिएका मिडियाको पत्रिका पनि बढीमा दैनिक एक लाख प्रति मात्रै छापिने भन्दै सामाजिक सञ्जालमा एकै जनाको लाखौं फलोअर रहेको उयनले बताए । भने, ‘मैले सुन्या छु नेपालको एक जना पत्रकार । विजय पाण्डेसँग ट्वीटरमा झण्डै चार लाख फलोअर्स छन् । तर नेपालको सबैभन्दा धेरै चल्ने (हुन त मिडियामा कति छापिन्छ सोध्न हुँदैन भन्छन्, त्यो मलाइ थाहा छैन) मिडियामा मेरो हिसाबमा ९५ हजारदेखि एक लाख पनि छापिँदैन एक दिनको प्रति । तर एक जना मान्छेसँग चार लाख पाठक छ ।’
मिडियामा चेन्ज आइरहेको बताउँदै उनले मिडियालाई नियमन नै गर्न हुँदैन भन्नु मुर्खता भएको बताए । ‘हामीले कुनै अभिव्यक्ति स्वतन्त्रता रोक्दैनौँ । यो बारम्बार भनेका छौँ’, उनले भने, ‘तर अराजकता चैँ रोक्ने हो । त्यसको बारेमा फेरि अल्मलिनुपर्ने कारण छैन । यति हो प्रस्ट, मैले पार्नुपर्ने । यो कुनै दम्भ होइन ।’ जुन सरकार भए पनि अराजकता रोक्ने भन्दै उनले स्वतन्त्रता कसैले पनि रोक्न नसक्ने उनले जनाए ।
प्रेससम्बन्धी अन्य काउन्सिलको कुरा पनि उठाएको भन्दै उनले प्रेस स्वतन्त्रतामाथि अप्ठेरो बनाउने कुरा केही नहुने बताए । उनले भने, ‘अब कुनै अर्डर सडर नमिलेका कुरा हुन्छ । तर प्रोसेसबाट हुन्छ नि ।’
कानुन बनाउने सबैभन्दा ठूलो थलो सार्वभौम संसद् हो भन्दै यसमा छलफल गरेर मात्रै कुनै कुरा सच्याउन सकिने उनले जनाए । भने, ‘अब यसमै छलफल नगरेर अन्त के के हुन्छ त्यहाँबाट आएको कुरामै जान र त्यस आधारमा जान सकिन्न । सच्याउने पनि यहीँ हो । राम्र्रो बनाउने पनि यहीँ हो र गलत रहेछ भने पनि त्यसलाई समृद्ध बनाउने ठाउँ पनि यही हो ।’
प्रेस स्वतन्त्रताप्रति बारम्बार शंका उठाउनु राम्रो नभएको भन्दै उनले भने, ‘मैले यति चैँ विनम्रतापूूर्वक भन्छु, प्रेस स्वतन्त्रता धरतीमा कसैले पनि कमजोर बनाउन सक्दैन । अभिव्यक्ति स्वतन्त्रता कमजोर बनाउन सक्दैन ।’
नभएको मुद्दा स्थापित गर्न खोजेको हो भने यसको ओखती छैन भन्दै उनले अन्य कुनै पनि कुरामा आफू छलफल गर्न तयार रहेको जनाए । ‘संसद्मा छलफल गरौँला । कसले केके कुरा उठाउँछन् सुनौँला, सुन्ने थलो यही हो । यहाँ सत्ता पक्ष पनि छ प्रतिपक्ष पनि छ । त्यसैले यहाँभन्दा ठूलो सार्वजनिक थलो अर्को हुन सक्दैन’, उनले भने, ‘विधि निर्माण, कानुन निर्माण, संविधान संशोधनसमेत यहीँबाट हुन्छ भने पछि त्यो कुरा त ख्याल गर्दिन पर्यो ।’
यसैगरी, लोककल्याणकारी विज्ञापनबारे उठेको जिज्ञासाको जवाफ दिँदै उनले बिपी कोइरालाको पालादेखि चल्दै आएकाले यसलाई हटाउन नसकिएको बताए । उनले भने, ‘यसलाई झिकिदिउँ भने अर्थोकै पर्ला भनेर कामय राखिदिएको । तर, समानसपातिक विज्ञापन प्रणाली आएपछि यो रहने छैन । किनभने डबल पर्न जान्छ । डबल गर्न सकिँदैन ।’
फोरजी कार्यक्रममा आठ अर्ब रुपैयाँ भ्रष्टाचार भएको सन्दर्भमा उनले आफ्नो भ्रष्टाचार गर्ने बानी नपरेको र नगर्ने संकल्प गरेकाले त्यसतर्फ रुची नरहेको बताए । उनले भने, ‘मैले नेतृत्व लिँदा यो मुद्दा अख्तियारमा थियो । नौ महिनासम्म अख्तियारले छानबिन ग¥यो । त्यसपछि उसले अघि बढाउ भनेको हो ।
त्यसपछि पनि संसदीय समितिमा छलफल भएर सबै एंगलबाट आइसकेकाले यसलाई थप बहस गरिराख्नु आवश्यक नभएको उनले बताए ।
