काठमाडौं । वन तथा वतावरणमन्त्री शक्ति प्रसाद बस्नेतले सरकारले वनलाई आर्थिक समृद्धिको आधार बनाएको बताएका छन् । त्यसका लागि वैज्ञानिक व्यवस्थापनको कार्ययोजनासहित काम शुरु गरिसकेको मन्त्री वस्नेतको भनाइ छ ।
शुक्रबार बसेको राष्ट्रियसभा बैठकमा विनियोजन विधेयक, २०७६ माथि वन तथा वातावरण मन्त्रालयका विभिन्न शीर्षकमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिदै उनले भने ‘वनलाई आर्थिक विकास, प्रकृतिमा आधारित पर्यटन, उद्यमशीलता र काठमा आत्मनिर्भर बनाउने गरी काम अगाडि बढेको छ,’ ।
मन्त्री बस्नेतले सन् २०२० लाई नेपाल भ्रमण वर्षका रुपमा मनाउने घोषणा सरकारले गरेको जानकारी दिए । उनले नेपाल आउने कूल पर्यटकमध्ये ६० प्रतिशत बढी पर्यटक संरक्षण क्षेत्रमा जाने गरेको तथ्याङ्क पनि उनले पेश गरे ।
नेपाल भ्रमण वर्षलाई सफल बनाउन पनि संरक्षण क्षेत्रमा थप पर्यटक पु¥याउन लाग्नुपर्ने भन्दै उनले संरक्षण क्षेत्रमा पर्यटकलाई सेवा दिन अगाडि सारिएका केही कार्यक्रमलाई अनावश्यक रूपमा चर्चा गरिएकोप्रति गुनासो व्यक्त गरे ।
मन्त्री बस्नेतले वृक्षरोपण वर्षलाई अझ प्रभावकारी बनाउन निर्देशिका, अवधारणापत्र तयार भएको, वृक्षरोपण कार्यक्रम एकाइ गठन गरेर जानेतर्फ सोच राखिएको जानकारी दिए ।
सरकारका नर्सरीमा नै दुई करोड र निजी नर्सरीमा थप तीन करोड बिरुवा रहेको भन्दै उनले वृक्षरोपण गरिएको बिरुवालाई संरक्षण गर्नु सङ्घीय, प्रदेश र स्थानीय सरकार तथा सरोकार भएका सबै निकाय एवं आम नागरिकको समेत दायित्व भएको स्पष्ट पारे ।
मन्त्री बस्नेतले चुरे क्षेत्रको संरक्षणका लागि योजनाबद्ध प्रयास भइरहेको र राष्ट्रपति चुरे संरक्षण कार्यक्रमलाई थप प्रभावकारी बनाइने दृढता व्यक्त गरे । उनले मानव र वन्यजन्तुबीच द्वन्द्व बढ्दै गएकाले त्यसलाई न्यूनीकरण, व्यवस्थापन गर्न साझा प्रयास जरुरी रहेको जानकारी दिए ।
चालू आवमा झापामा मात्रै हात्ती नियन्त्रणका लागि रु छ करोड विनियोजन गरिएको र आगामी आवमा समेत सो कार्यक्रम निरन्तर सञ्चालन हुने बताए । उनले वन्यजन्तुको व्यवस्थापनका लागि सरोकार भएका सबै पक्षसँगको सहकार्यमा उपयुक्त योजना र कार्यक्रम अगाडि बढाउन लागिएको जानकारी दिए ।
हरियाली प्रवद्र्धन, फोहरमैला व्यवस्थापन, शहरी क्षेत्रमा प्रदुषण नियन्त्रण र हरित ग्यास उत्सर्जनलाई कम गर्नका लागि पनि योजनाबद्ध प्रयास गरिने उहाँले सदनलाई जानकारी गराए ।
मन्त्री बस्नेतले नदी जलाधार क्षेत्रको संरक्षणका लागि तीन वटै सरकारले योजनाबद्ध प्रयास गरेको र भू–संरक्षणको काम समेत शुरु भएकोे स्पष्ट पारे ।
राष्ट्रियसभाको अर्को बैठक यही असार २२ गते बिहान ११ बजे बस्नेछ । रासस
